Shittalpati
पुष्पलालको स्मरणसँगै असल कर्म अनुकरण गरे सच्चा श्रद्धाञ्जली हुनेछ

गोविन्द भट्टराई

संयोग वा समयको माग जे भने पनि पुष्पलाल र बीपीको सिद्धान्त, सपना, सोचलाई आफ्नो पार्टीको मार्गदर्शन ठान्ने नेकपा (एमाले) र नेपाली काँग्रेस यतिबेला सत्ता सहकार्यमा एकसाथ छन् । उनीहरूले समयसापेक्ष ढंगले वर्तमान संविधान संशोधन तथा आवश्यक कानुन निर्माणमा समेत एकसाथ लाग्ने बताएका छन् । यद्यपि सत्ता सहकार्यका बेला भएको भनिएको ७ बुँदे सहमति औपचारिक रुपमा सार्वजनिक भएको पंक्तिकारले थाहा पाएको छैन् । तसर्थ यतिमात्र कामना गर्दछु कि राष्ट्र, राष्ट्रियता घात गर्ने अनि नागरिकले सत्तो सराप गर्ने अवस्था सिर्जना हुने छैन । सारमा भन्नुपर्दा आम नेपाली नागरिकले यो सरकारबाट हित महसुस गर्न सकुन् । यसतर्फ काँग्रेस र एमालेका नेताहरू सचेत होलान नै । प्रसङ्ग ४६ औँ पुष्पलाल स्मृति दिवसको हो, यसर्थ केही कुरा राख्ने अनुमति चाहन्छु ।

नेपालका कम्युनिष्ट पार्टीले पुष्पलाल अनि नेपाली काँग्रेसले बीपीलाई आफ्नो कित्ताको पेवा ठान्ने प्रवृत्ति हटिसेकेको छैन् । तथापि पुष्पलाल र बीपी साझा व्यक्तित्व हुन् भन्दा अन्यथा नहोला । आज अर्थात् साउन ७ गते पुष्पलालको ४६ औँ स्मृति दिवस पनि हो । रामेछापको भंगेरीमा जन्मिएका लोकतन्त्रका मूर्धन्य ब्यक्तित्व नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालप्रति उनको योगदानका कारण सबै कम्युनिष्ट घटक मात्र होइन प्रजातन्त्रवादी खेमासमेत नतमस्तक हुन्छन् । यद्यपि बीपी कोइराला जीवनभर अनुयायीमाझ जति सम्मानित हुन सक्नुभयो पुष्पलाल जीवन पर्यन्त आलोचित, अपमानित बन्नुभयो । घर, परिवारको साथ र सहयोग जति बीपीलाई थियो वास्तवमा पुष्पलाललाई थिएन । अभाव र पीडाका बीच किसान, मजदुर अर्थात् आम श्रमजीवी वर्गको हकहितका लागि पुष्पलालले जीवनभर असल कर्म सम्पादन गर्नुभएको थियो । श्रमप्रति अटुट निष्ठा राख्ने, श्रम र उत्पादनलाई महत्व दिने पुष्पलालले राष्ट्र, राष्ट्रियतालाई कर्मले सधैँ उच्च सम्मान गर्नुभयो । लोकतन्त्रका मुर्धन्य व्यक्तित्व पुष्पलाल र साहित्य तथा राजनीतिमा उत्तिकै दख्खल राख्ने बहुआयामिक व्यक्तित्व बीपीको योगदानलाई चिरस्थायी तुल्याउन तानसेन नगरपालिकाको विगतको नेतृत्वले दुई प्रतिष्ठानको स्थापना गरेको पाइन्छ । नेपालकै तेस्रो नगरपालिकाको पहिचान बनाएको तानसेन नगरपालिकाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्थायी गराउने मुख्य उद्देश्यले उहाँको स्मृतिमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा समावेशी, साझास्वरुपसहित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष २०७५ स्थापना गरेको थियो । स्थानीय निर्वाचन २०७४ बाट निर्वाचित तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीकै कार्यकालमा जननायक बीपी कोईरालाको योगदानको सम्मानस्वरुप टंक पन्थको संयोजकत्वमा बीपी स्मृति प्रतिष्ठान गठन भएको थियो । अहिलेका मेयर सन्तोषलाल श्रेष्ठले समेत यी संस्थाहरूलाई यथोचित ढंगले सहयोग गर्ने वचन दिनुभएको भएपनि यस आर्थिक वर्षमा बजेट विनियोजनमा वचन कार्यान्वयन हुन सकेन् । कार्यवाहक मेयरको रुपमा गतवर्ष वरिष्ठ पत्रकार कमल कोइरालालाई प्रतिष्ठानले पुरस्कृत गर्दा समारोहमा उपमेयर प्रतिक्षा गाहा सिंजालीले (कार्यवाहक मेयरका रुपमा) समेत सहयोगको वचन दिनुभएको थियो । तानसेन नगरपालिकाले यसपटक बीपी स्मृति प्रतिष्ठान नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल कुनैलाई पनि नीति कार्यक्रममा सम्बोधन गरेको देखिएन । तथापि प्रतिष्ठानले पुष्पलालका योगदानलाई चिरस्थायी गराउन यथासक्य कार्यक्रम आयोजना गरेर प्रयास गरिआएको छ ।

के–के गरेको छ पुष्पलाल स्मृति प्रतिष्ठान नेपालले ?

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष २०७५ को दोस्रो साधारणसभा (२०७८ चैत्र) ले संस्थाको कार्य दायरा फराकिलो बनाउनका लागि नाम परिवर्तन गर्ने निर्णय गरेअनुसार पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल, पाल्पा, तानसेनको नामबाट कामलाई निरन्तरता दिइआएको छ । संस्थाको प्रथम साधारण सभा (२०७६ माघ) को निर्णय अनुसार पहिलोपटक पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई २०७७ असोज ६ गतेका दिन तत्कालीन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट शीतलनिवासमा आयोजित विशेष समारोहबीच प्रदान गरिएको थियो । पुष्पलाल स्मृति प्रतिष्ठान नेपालले वर्ष २०७८ को पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पुष्पलालका समकालीन व्यक्तित्व, वरिष्ठ पत्रकार कमल प्रसाद कोइराला (मोरङ) लाई (२०८० असार १५) का दिन तानसेनमा आयोजित विशेष समारोहबिच लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनबाट अर्पण गरेको थियो । लेखन र पत्रकारिताका माध्यमबाट पुष्पलालको योगदानलाई चिरस्थायी गराउन पहल गर्नुहुने श्रेष्ठ र कोइराला नेपाली पत्रकारिता क्षेत्रमा समेत स्थापित व्यक्तित्व हुनुहुन्छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान नेपालको साधारणसभाले कोषलाई स्वतन्त्र र स्वायत्त संस्थाको रूपमा विकसित गर्दै नेपाली समाजको रूपान्तरण र विकासमा पत्रकारिताका माध्यमबाट योगदान गर्ने राष्ट्रिय व्यक्तिहरुको सूची बनाई सम्मानित गर्दै जाने, पुष्पलालको योगदान समेटेर स्मारिका प्रकाशन, पुष्पलालको योगदान चिरस्थायी बनाउनेलगायतका सम्भव रचनात्मक कार्यक्रम आयोजना गर्ने नीति अघि सारेको छ । गतवर्ष प्रतिष्ठानले पुष्पलाल स्मृति दिवस (२०८० साउन ७ गते) कै दिन सम्पर्क कार्यालय सुभारम्भ साथै कार्यालयमै राजनीतिक व्यक्तित्वहरूबिच पुष्पलालको योगदानबारे संवाद कार्यक्रम आयोजना गरेको थियो । यस संस्थाले विगतमा पुष्पलाल स्मृति दिवसका अवसरमा सामुदायिक रेडियो मदनपोखराबाट पुष्पलालका योगदानमा आधारित रेडियो परिसंवाद कार्यक्रम सञ्चालन गरिआएको छ । यसैगरी २०७९ साउन ७ गते तानसेन नगरपालिकाको सभाहलमा ‘पुष्पलाल र नेपालको राजनैतिक आन्दोलन’ विषयक अन्तरसम्वाद गोष्ठी आयोजना गरिएको थियो । 

२०८० चैतमा पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पा, तानसेनको तेस्रो साधारणसभा (परिषद) सम्पन्न भएको छ । प्रतिष्ठानले २०८१ असार (पुष्पलाल जयन्तीका अवसर) मा ‘विद्यार्थीसँग पुष्पलाल’ विषयक छलफल कार्यक्रम आयोजना गरेको थियो । यसैगरी ४६ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भ पारेर २०८१ साउन ५ गते (अस्ति) प्रतिष्ठानले ‘शिक्षकहरूसँग पुष्पलालको योगदानबारे परिचचा’ कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थी जीवनबाटै पुष्पलाल र बीपीका असल कर्महरूको बारेमा जानकारी गराउन सकिएमा भोलिका कर्णधार इमान्दार नैतिकवान हुनुका साथै राष्ट्र राष्ट्रियताप्रति संवेदनशील हुन सक्ने अपेक्षा गर्न सकिन्छ । सीमित संख्यामा, निश्चित ठाउँमा आयोजना गरिने यस्ता कार्यक्रमको के प्रभाव पर्ला र भनेर आलोचना गर्न पनि छुट छ । तथापि असल बीउ छर्ने काममा प्रतिष्ठान कदापि हतोत्साहित हुने छैन् । साझा र समावेशी सांगठनिक स्वरुप रहेको पुष्पलाल स्मृति प्रतिष्ठान नेपालको मुख्य उद्देश्य लोकतन्त्रका मूर्धन्य ब्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्मरणीय बनाउने, मर्यादित र पेशागत पत्रकारिताको विकास गर्न नेपाली पत्रकारहरूलाई प्रोत्साहित  गर्ने  तथा राष्ट्रियता, लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्यायका लागि पैरवी गर्ने नै हो । साधन, स्रोत, जनशक्तिले सम्भव भएसम्म हामी प्रयासरत छौँ । यथासक्य सहयोगका लागि सबैसँग एकमुष्ठ आग्रह गर्दछौँ । 

अन्त्यमा, पुष्पलाल, बीपी कोइरालाको नाममा भाषण गरेर मात्र उहाँहरूको योगदानको कदर हुन सक्दैन तसर्थ उहाँहरूका असल कर्म अनुकरण, सिद्धान्त अमनुशरण गर्न सबैसँग अनुरोध गर्दछौँ । स्थानीय, प्रदेश, संघीय सरकार लगायत जो कसैले पनि सकिन्छ पुष्पलाल र बीपीको सोच, विचार, कर्म उजागर गरौँ तर अनादर गर्ने काम कसैले नगरौँ । स्मृति दिवसका विशेष अवसरमा पुनः पुष्पलालप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।
(लेखक पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल, पाल्पाका अध्यक्ष समेत हुन्)

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update