पाल्पा, आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै नेपालका कम्युनिष्ट पार्टीहरुले देशैभर विभिन्न कार्यक्रमसहित ४६ औं स्मृति दिवस मनाउँदै छन् ।
उनका फोटामा माल्यार्पण गरिनेछ, पुष्पलालका जीवन भोगाइ र दुई/चारवटा उनका विचारका कर्खा कार्याकर्ताकालाई सुनाएर यो स्मृति दिवस अन्त्य हुनेछ । यसरी नै हरेक वर्ष कम्युनिष्ट घटकहरूले आजको दिन पुष्पलालालाई सम्झने गर्छन् । तर, उनीहरू पुष्पलालले देखाएको बाटोबाट भने कोसौं टाढा रहेका छन् । आज पुष्पलालले निर्माण गरेको कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा छ । जनमत र शक्तिका हिसाबले कम्युनिष्ट जनमत बलियो रहे तापनि कम्युनिष्ट आन्दोलनभित्रका अनेकौं विकृति र द्वेषका कारणले एक आपसमा लड्ने अवस्था सिर्जना भएको छ । अर्कोतिर पुष्पलालका सपनालाई पटक–पटक भजाएर सत्तामा गएका कम्युनिष्टहरु (एमाले, माओवादी) विभाजित हुँदै गएका छन् ।
यतिसम्म कि पटक–पटक आफ्नै कारणले सत्तासमेत ढलेको छ । उनीहरुले पुष्पलालको सपनालाई एक छेउसम्म पनि समेटेका छैनन् । दुर्भाग्य नै भन्नु पर्छ आज कम्युनिष्टमै पुष्पलाल खोज्नुपर्ने अवस्था छ । कम्युनिष्ट आन्दोलनलाई सहीदिशातर्फ उन्मुख गराउन देशीविदेशी प्रतिक्रियावादी तत्वहरूसँग मुकाबिला गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाललाई कम्युनिष्ट आन्दोलनको प्रणेताका रूपमा लिने गरिन्छ । उनी नेपाली क्रान्तिका सिद्धान्तकार समेत हुन् । प्रवासी जीवनकालमा तत्कालीन राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका उनले करिब दुई वर्ष काँग्रेसको कार्यालय सचिव समेत रहेर काम गरेका थिए । राष्ट्रिय काँग्रेसमा आएको फूटसँगै भारतीय कम्युनिष्ट पार्टीका नेताहरुको संगतले उनले कम्युनिष्ट राजनीति सुरू गरेका थिए । उनी नेपालका प्रथम गणतन्त्रवादी नेता समेत हुन् । सिद्धान्त अनुसारको भौतिक स्थिति होइन, भौतिक स्थितिअनुसारको सिद्धान्त खोज्नुपर्छ, सिद्धान्त, संगठन र संघर्ष आमूल परिवर्तनका कडी हुन्, जनता चेतनशील हुनुपर्छ, कार्यकर्ता संगठित हुनुपर्छ, परिवर्तन अवश्यम्भावी छ, यसलाई संसारका कुनै पनि शक्तिले रोक्न सक्दैनन् भन्ने पुष्पलालको विचार अहिले पनि महत्वपूर्ण रहेको छ । जनवादी केन्द्रीयता लागु हुन सकेन भने पार्टी जीवनमा नै बेथिति देखापर्ने उनी बताउन्थे । तर अहिले उनै निर्माण गरेका कम्युनिष्टहरु उनको मार्गदर्शनबाट विमुख हुँदै गएका छन् ।
पुष्पलाल शोषित, पीडित जनताका पक्षमा उभिने विचारक, सिद्धान्तकार र योजनाकार समेत थिए । उनले त्यति बेलाको नेपाली समाजलाई राम्रोसँग चित्रण गरेका थिए । समाजको द्वन्द्वात्मक भौतिकवादी वैज्ञानिक दृष्टिकोणको आधारमा वर्गीय शोषण र जातीय उत्पीडनबाट नेपाली समाजको मुक्ति उनको प्रमुख उद्देश्य थियो । शिखर व्यक्तित्वको शाखलाई भजाएर कम्युनिष्ट घटकहरूले सत्ता सञ्चालन गरिरहेका छन्, नेपाली राजनीतिक इतिहासमा । यद्यपि कम्युनिष्ट घटकहरूले राष्ट्र र जनताको पक्षमा ती शिखर पुरुषले देखाएको मार्ग दर्शनलाई हजारौं कोस टाढा राखी शासन गरिरहेका छन् । उनीहरुले पुष्पलालको आदर्श, दर्शनलाई त्यागी दलाल पुँजीवादी राजनीतिक व्यवस्था अवलम्बन गरी राज्यको दोहन गर्ने कार्यमै अगाडि बढेका छन् । अन्य नेपालका सानातिना कम्युनिष्ट विचारक शक्तिहरूमा पनि पुष्पलालको राजनीतिक दर्शनको कमी छ । तैपनि उनीहरूले एकदिन भएपनि पुष्पलाललाई सम्झिने गरेका छन् ।
पछिल्लो समय कम्युनिष्ट नेताहरु पुष्पलालको मार्गदर्शनलाई विर्सिएर पद, सत्ता र पैसाको पछाडी दौडिने गरेको आरोप समेत लाग्ने गरेको छ । पुष्पलाल स्मृती प्रतिष्ठान नेपाल पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको शिक्षकसँग पुष्पलाल अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले समेत पुष्पलालको नीति र सिद्धान्तहरुलाई तिलाञ्जली दिएर पद, सत्ता र पैसाको लागि जस्तो सुकै गलत कामको लागि कम्युनिष्ट नेताहरु हाम फाल्ने प्रवृत्ति रहेको बताएका छन् । भाषणमा समाजवादी कुरा गर्ने सत्तामा पुगेपछी पुँजीपती बर्गको पछाडी दौडिने प्रवृत्ति नेपालका सबै कम्युनिष्ट नेताहरुमा रहेको उनीहरुको भनाई छ । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले पुष्पलालले सधै सत्ता पैसा र परिवारवाद भन्दा माथि उठेर काम गरे पनि वर्तमान नेताहरु पुष्पलालको नीति, सिद्धान्त विपरित सत्तामा मात्र ध्यान दिएको बताए । प्रतिष्ठानका संरक्षक अशोक कुमार शाहीले पुष्पलालले गरेका काम विचार सिद्धान्त, दर्शनहरु समाजका विभिन्न पक्षहरुबाट जनतासम्म लैजानु पर्ने बताउँछन् । पुष्पलालको विचार अनुसार नेपालमा परिवर्तन हुन नसकेको संरक्षक शाहीको विश्लेषण छ ।
१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको ७ साउन २०३५ मा भारतमा उपचारका क्रममा निधन भएको थियो । उनले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडी उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् ।