Shittalpati
तिनाउ गाउँपालिकामा आर्थिक अनियमितता : करार कर्मचारी नियुक्तदेखि कुखुराका चल्ला वितरणमा मनलागी खर्च 

पाल्पा,पाल्पाको तिनाउ गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो । गाउँपालिकाले ९६ लाख ९५ हजार अनियमित रुपमा खर्च गरेको छ । जसलाई महालेखाले बेरुजुको रुपमा उल्लेख गरेको छ । उसले करार कर्मचारी नियुक्तदेखि कुखुराका चल्ला वितरणमा मनलागी रकम खर्चेको पाइन्छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा  नगर प्रहरी, सवारी चालक, सयस, बगैंचे, प्लम्वर लगायतका पद तथा सेवा बाहेक करारमा नियुक्त गर्ने व्यवस्था छैन तर पालिकाले ४४ जना करारमा नियुक्त गरी मोटो रकम खर्चेको छ । उसले ५ वटा स्वास्थ्य ईकाइमा ५ जना स्वीकृत दरवन्दी बाहिर कर्मचारी करारमा नियुक्त गरी प्रति महिना १९ हजार ५ सयका दरले  सो आर्थिक वर्ष १३ लाख १७ हजार ५ सय तलव भत्तामा खर्च गरेको  छ । ऐनमा भएको व्यवस्था अनुसार दरबन्दी भन्दा बढी करार कर्मचारी नियुक्त गरी भुक्तानी गर्ने कार्य नियमसम्वत नरहेको महालेखाले औल्याएको छ ।

स्वास्थ्य कार्यक्रम अन्तर्गत नै २ सय ६६ सुनौला हजार दिनका आमाहरुलाई वडास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको सिफारिसमा कुखुराका चल्न वितरण गर्ने भनिए पनि पालिकाले कार्यविधि नै नबनाई ४ लाख ८९ हजार ४ सय ४० रुपैयाँ खर्च गरेको  छ । यस्तै औषधि खरिदमा १५ लाख २८ हजार खर्च गरे पनि त्यसको प्राप्त विवरण  पालिकाले राखेको छैन् । विरुवा उत्पादनमा ३ लाख ५० हजार, प्रधामन्त्री रोजगार कार्यक्रममा ३९ लाख १६ हजार, मेडपा कार्यक्रमका लागि ८ लाख ७५ हजार, नेपाल सरकारको नीति बमोजिम बैंकमार्फत सामाजिक सुरक्षा भत्ता  लाभ ग्राहीको खातामा निकासा दिए पनि पालिकाले भने भत्ता बाड्न वडा वडामा पुग्नेहरुका लागि भ्रमण भत्ताबापत ४१ हजार भुक्तानी दिएको, सवारी भाडा २ लाख ४० हजार,  धार्मिक तथा मनोरञ्जन गर्न मुस्ताङ भ्रमण अवलोकनमा जाँदा ३ लाख ३४ हजार, खरिद नियमावली विपरीत १३ लाख ९८ हजारको प्याड खरिद गरेको छ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update