Shittalpati
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य

पाल्पा, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि आचार्यले नेकपा एमालेका २९ जना र काँग्रेसका २७ जना सांसदको समर्थनसहित सोमबार मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । मुख्यमन्त्रीको सपथ भने मंगलबार गराउने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । प्रदेश अधिवेशनको झड्का मुख्यमन्त्रीमा एमालेबाटै लुम्बिनीमा मुख्यमन्त्रीको लाईनमा रहेका एमाले संसदीय दलका नेता लीला गिरीलाई प्रदेश अधिवेशनको झड्का लागेको छ । पार्टीको प्रदेश अधिवेशनमा गिरीले खेलेको भूमिकाले अहिले मुख्यमन्त्रीमा झड्का लागेको हो ।

सोमबार विहानसम्म गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भए पनि अन्तिममा आएर उनलाई ब्याक गराएर एमालेले आचार्यलाई अघि सारेको थियो । यसअघि दलका नेता गिरीलाई मुख्यमन्त्री बनाउने काँग्रेस–एमालेबीच समेत सहमति भएको हो । तर सोमबार बिहान एमाले केन्द्रको निर्देशन अनुसार आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीमा आचार्यलाई बनाउन निर्देशन दिएपछि अन्तत गिरी ब्याक हुनु परेको हो । प्रदेश अधिवेशनका बेला एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले प्रदेश अध्यक्षमा प्युठानका हरि रिजाललाई अघि सारे पनि गिरीले प्रतिनिधिहरुलाई रिजाललाई नभई पाल्पाका राधाकृष्ण कँडेललाई जिताउन अनौपचारिक अपिल गरेका थिए । अन्ततः उनैले समर्थन गरेका कँडेलले रिजाललाई हराउन सफल भएका थिए । त्यहि बेला लुम्बिनीमा गिरीले चालेको कदमलाई एमाले केन्द्रले बदलाको रुपमा अहिले लिएको हो । काँग्रेस र एमालेबीचको सहमतिमै गिरी मुख्यमन्त्री बन्ने पक्कापक्की थियो ।

अन्तिम घडीमा महासचिव पोखरेलले आफ्नो शक्ति प्रयोग गरेरै उनलाई रोक्न सफल भए । गिरी लामो समयसम्म शंकर पोखरेलसँगै थिए । एमाले महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीच आन्तरिक खिचातानी हुँदा गिरी सहजकर्ताकै रुपमा रहन्थे । तर प्रदेश अधिवेशनका बेला भने गिरीले आफुलाई सहजै चिनाए । जसको परिणाम अहिले देखा परेको हो । गिरी यस अघि मुख्यमन्त्री भइसकेका व्यक्ति हुन् । उनी २०७९  पुस २७ गते नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले मुख्य मन्त्रीमा नियुक्त आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद हुन । उनी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन, लीला गिरी नेतृत्वको सरकारमा ग्रामिण खानेपानी तथा सहरी विकासमन्त्री तथा जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका थिए ।   
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update