Shittalpati
पाल्पासहित देशभरका शिवालयमा भक्तजनहरुको भिड

पाल्पा, साउनको पहिलो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक भिड लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।

उनीहरु निराहार ब्रत बसेर भगवान शिवको पूजा अराधना गर्ने गर्छन् । सोमबारदेखि अब साउन महिनाको हरेक सोमबार देशभरका शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने छ । साउने सोमबारको अवसरमा पाल्पाको सिद्धबाबा मन्दिर, तानसेनस्थित नारायणस्थान, भगवतीटोल, बराङ्दी लगायतका विभिन्न शिवालयमा पूजा आराधना गर्न हजारौं भक्तजनहरु पुग्ने गर्दछन् । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको शुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना हो । पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउने सोमबारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिष शास्त्रानुसार सोमबारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ ।

यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update