Shittalpati
लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज

बुटवल, लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सोमबार नियुक्त भएका आचार्यले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

बुधबार बिहान ८.३० बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो । माओवादीबाट मुख्यमन्त्री बनेका जोगबहादुर महराले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । आचार्यले नेकपा एमालेका २९ जना र काँग्रेसका २७ जना सांसदको समर्थनसहित सोमबार मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । नवनियुक्त मुख्यमान्त्री अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित सांसद हुन् । अबको एक महिनामा मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ । सम्भवत आजै मन्त्रीपरिष विस्तार हुन सक्ने स्रोतले जनाएको छ । 

मन्त्री छनोटका लागि नेपाली कांग्रेस र नेकपा एमालेभित्र गृहकार्य भइरहेको छ । मन्त्रीका आकांक्षी सांसदहरूले पनि पार्टीभित्र आन्तरिक लविङ तीव्र पारेका छन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहने छन् । कांग्रेस, एमालेबिच भएको सहमति अनुसार एमालेले मुख्यमन्त्रीसहित ६ मन्त्रालय र कांग्रेसले ६ वटा मन्त्रालय पाउनेछ । कांँग्रेसभित्र सचेतक जन्मजय तिमसेना, पाल्पाका वीरबहादुर राना, धनेन्द्र कार्की, राजु खनाल, अब्दुल रज्जाक, निमा गिरी, जमुना ढकाल, माया पुन, प्रचण्ड विक्रम न्यौपाने, देवी चौधरी, सरोज थापा, बसिउद्दिन खाँन, भुवनेश्वर चौधरी, अनुराग खड्का मन्त्री आकांक्षी रहेका छन् । एमालेमा यसअघि मन्त्री बनेकामध्येबाटै धेरैलाई दोहोर्‍याउने सम्भावना रहेको स्रोतले जनाएको छ । अहिले एमालेबाट मन्त्री बन्ने सम्भावना रहेकाको सूचीमा खेम सारु, विष्णु पन्थी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी, तुलसी प्रसाद चौधरी, बसन्ती न्यौपाने रहेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update