Shittalpati
अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता बस

पाल्पा, पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन् । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको १२ औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ ।

असार २८ गते दुईवटा बस नदीमा खसेका थिए । अहिले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आई संयुक्त रूपमा उद्धार कार्य जारी राखिएको चितवन प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष तथा सूचना अधिकृत भेषराज रिजालले जानकारी दिए । उनका अनुसार सोनार क्यामरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिब ३ दशमलव ५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरिरहेको छ ।

बसमा ६५ जना सवार रहेको बताइएको छ । जसमध्ये हालसम्म २४ वटा शव प्राप्त भएको प्रहरी नायव उपरीक्ष रिजालले बताए । भेटिएका शवमध्ये दुई वटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ । सनाखत भएका शवमा १६ वटा पुरुषको हो भने दुई वटा महिलाको रहेको प्रहरीले जनाएको छ । त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिक हुन् भने पाँच वटा भारतीय नागरिकका रहेको जनाइएको छ । बेपत्ता २५ जनाको शव फेला परेको भनिए पनि  कालीगण्डकी नदीमा बेपत्ता पाल्पाको रामपुरकी ५२ वर्षीय मायादेवी विकको शव रहेको डिएसपी रिजालले एनजेडीसँगको कुराकानीमा बताए । उनले ति महिलालाई समेत बेपत्त मध्येको सूचीमा राखिएकोले २५ जना भनिएको हुन सक्ने उल्लेख गरे । बेपत्ता गाडी र थप यात्रुको खोजी कार्य जारी रहेको रिजालको भनाई छ ।

असार २८ गते वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बाप्र ०३००६ ख नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर आउँदै गरेको प्र ३००१ख २४९५ नम्बरको गणपति डिलक्स सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए । एन्जल डिलक्समा २७ जना र गणपतिमा ४१ यात्रु रहेकोमा गणपति बसका तीनजना यात्रु त्रिशूलीमा पौडिएर बाँच्न सफल भएका थिए । नदीमा बेपत्ता र बसको खोजीका लागि सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्‍याफ्टिङबोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एंकर)को प्रयोग गरिर्दै आएको छ । किनारको वारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ । बेपत्ताको शव सीमाछेउछाउमा समेत फेला पर्न थालेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update