पाल्पा,पाल्पाको रिब्दीकोट गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो । गाउँपालिकाले ९४ लाख २२ हजार अनियमित रुपमा खर्च गरेको छ । जसलाई महालेखाले बेरुजुको रुपमा उल्लेख गरेको छ ।
उसले गरिबसँग विशेश्वर कार्यक्रम अन्तर्गत २ लाख ४९ हजार खर्च गरेको उल्लेख गरे पनि विउविज वितरणको भरपाई नै गरेको पाइँदैन । यस्तै पालिकाले तालिम गोष्ठीमा ९५ हजार २ सय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममा ८ लाख ८४ हजार ८ सय ८७ अनियमित रुपमा खर्च गरेको पाइन्छ । उसले मेडपा कार्यक्रममा ६ लाख ९१ हजार खर्च गरेको छ तर उक्त कार्यक्रमबाट तालिम तथा प्रविधिको प्रयोग गरि कति जनाले लघु उद्यम सञ्चालन गरे भन्ने अभिलेख नै राखेको छैन् ।
यस्तै पालिकाले शिर्षक नै फरक पारेर ४ लाख ८१ हजार अनियमिता गरेको छ । विद्युत् व्यवस्थापनका लागि भनिएको बजेट पक्की नाली निर्माण, एम्वुलेन्स सेवाका लागि भनिएको रकम प्लाष्टिकजन्य सामग्री खरिद, मसलन्द तथा कार्यालय सामग्रीका लागि भनिएको रकम सामुदायिक भवन रङ्गरोगनमा खर्चिएको पाइन्छ ।
यस्तै अनुदान वितरणमा कृषकको कुनै पनि लागत सहभागीता नगराई मापदण्ड विपरीत २ लाख ७६ हजार अनियमिता गरेको , सवारी भाडामा ३ लाख ५३ हजार ७ सय, औषधि खरिदमा २४ लाख ६ हजार, फर्निचर खरिदमा ११ लाख ५५ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रममा नम्र्स फरक पारी १६ लाख ६६ हजार र दरबन्दी बेगर शिक्षक व्यवस्थापन गरी पालिकाको अनुदान बापत १५ लाख ५४ हजार ९ सय अनियमित तरिकाले खर्च गरेको छ ।
सच्याइएको * : यस समाचारमा सवारी भाडामा ३ लाख ५३ हजार ७ सय हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।- सम्पादक