पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पर्न सकेका छैनन् । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको १३ औँ दिन पनि खोजी कार्य जारी छ ।
गाडीसँगै बेपत्ता भएका आफन्तजन जीवितै भेटिएलान् भन्ने आशा धेरैलाई छैन तर शव नै भए पनि छिटो भेटियोस् भन्ने अपेक्षा छ । असार २८ गते वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बाप्र ०३००६ ख नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर आउँदै गरेको प्र ३००१ ख २४९५ नम्बरको गणपति डिलक्स सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए । एञ्जल डिलक्समा २७ जना र गणपतिमा ४१ यात्रु रहेकोमा गणपति बसका तीनजना यात्रु त्रिशूलीमा पौडिएर बाँच्न सफल भएका थिए । बेपत्ता मध्ये २४ जनाको शव १२ औं दिनमा फेला परेको छ भने अन्यको अझै पनि अज्ञात नै छ । सरकारका तर्फबाट खोजी कार्य जारी छ । घटनालगत्तै उद्धारमा सुरक्षाकर्मी परिचालन भएका थिए । सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी र सेनाको टोली पनि खटिएका छन् । खोजीका लागि गोताखोरका अतिरिक्त मोटरबोट, ¥याफ्टिङ बोट, चुम्बक, वाटर ड्रोन, सोनारा क्यामरा र ‘पाइपलाइन इन्सपेक्सन सिस्टम’ को प्रयोग भइरहेको छ । अहिले त छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आई संयुक्त रूपमा उद्धार कार्य समेत गरिरहेका छन् । उद्दारमा खटिने सुरक्षाकर्मीहरु सुरुका दिनदेखि नै दिनरात लागेका छन् । उनीहरुको सक्रियतालाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ । सिमित स्रोत र साधनका बावजुद पनि उनीहरु निरन्तर उद्दारमै लागेका छन् । तर पनि गाडी र धेरै यात्रु अहिलेसम्म पनि फेला पर्न सकेका छैनन् । यो अत्यन्त दुखको कुरा हो ।
अहिलेसम्म प्रयोग गरिएका प्रविधि विदेशतिर निकै प्रभावकारी मानिने भए पनि त्रिशूलीको उर्लिंदो भेल र धमिलो पानीका कारण सहज हुन सकिरहेको छैन । यसले उपलब्ध प्रविधि र मानवीय प्रयत्नले मात्रै नतिजा दिन नसक्ने पुष्टि भइसकेको छ । त्यसैले थप मिहिनेत र पूरक विधिको खोजी अनिवार्य बनेको छ । त्रिशूलीमा खसेर सर्वसाधारणदेखि मुलुकका ठूला नेतासम्मले ज्यान गुमाउँदा पनि राज्य संवेदनशील नहुनु विडम्बना हो । यसबारे संवेदनशीलतापूर्वक दुर्घटना न्यूनीकरणको उपाय खोजी गर्न जरुरी छ ।