Shittalpati
तानसेन नगरपालिकाले दियो कृषकलाई कृषि सामग्री

पाल्पा, जिल्लाको तानसेन नगरपालिकाले नगरभित्रका कृषकहरुलाई कृषि सामग्री दिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु दिएको हो ।

पालिकाले एक औपचारिक कार्यक्रमका बिच कृषकलाई सामग्री वितरण गरेको छ । ४७ जना कृषकलाई हाते ट्याक्टर,४ सय ८५ जनालाई मौरी घार र मौरीजन्य सामग्री तथा ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको कृषि शाखाका प्रमुख सरोज तिमिल्सिनाले बताए । उनीहरुलाई नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ, उप प्रमुख प्रतिक्षा सिंजाली,प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए । वडा कार्यालयबाट सिफारिस भएर आएका कृषकहरूलाई सामग्री दिइएको थियो ।  सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण गर्न अनुदानमा सामग्री दिइएको बताए । उनले नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नगर सरकारले योजना ल्याएकाले सबैलाई व्यवसायिक रुपमा लाग्न आग्रह गरे ।  नगर प्रमुख श्रेष्ठले भने ‘परम्परागत खेती प्राणालीलाई आधुनिक बनाई कृषकलाई व्यवसायिक बनाउनुु हाम्रो योजना हो ।’

नगरपालिकाले आगामी बर्ष थप बजेटसहित कृषि र पशुपालनलाई अगाडि बढाउने समेत उनले बताए । यो बर्ष सबै कृषकहरूलाई समेट्न नसके पनि आगामी बर्षका बजेटहरूमा थप छुटेका कृषकहरूलाई समेट्ने नगर प्रमुख श्रेष्ठले उल्लेख गरे । नगर सरकारले नगर भित्रका मौरी पालन सम्भावना हुने क्षेत्रलाई मौरी पालन पकेट क्षेत्रको रूपमा विकास गर्न खोजेको पनि उनले बताए । सोही अनुरूप नगर सरकारले यो करिब ४ सय ८५ जना कृषकहरूलाई मौरी घार र मौरीजन्य सामाग्री प्रदान गरिएको श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update