Shittalpati
असुरक्षित बन्दै हवाई यात्रा

पाल्पा,चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भयो । दुर्घटनामा १८ जनाको ज्यान गएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले पुष्टि गरेको छ । बिहान ११ः११ बजे पोखराका लागि उडेको जहाज बुधबार रनवेबाट दुर्घटनामा परेको थियो । उड्ने बितिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको केन्द्रले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

जहाजमा पाइलट मनिषरत्न शाक्य, को–पाइलट एस कटवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अरेफ रेडा सवार रहेका थिए । पाइलट मनिषरत्न शाक्यको भने गम्भीर घाईते रहेका छन् । उनको काठमाडौंको केएमसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । मृतक १६ जना सौर्य एयरलाइन्सका कर्मचारी रहेको बुझिएको छ । जहाज दुर्घटनामा मृतक मध्ये एकै परिवारका तीन जना रहेका छन् ।

सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् । उनी श्रीमानसँगै पोखरा घुम्न हिडेकी थिइन् । यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिन्छ । तर, बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित हुँदै गएको देखाउँछ । नेपालका आन्तरिक विमानको दुर्घटनामध्ये पछिल्लो दुर्घटना मानवीय क्षतिका हिसाबले ठूलो दुर्घटना मध्यको यो एक ठूलो हो । डेढ वर्ष अघि १ माघ २०७९ मा पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । १५ जेठ २०७९ मा पनि जोमसोम, मुस्ताङमा तारा एअरको विमान दुर्घटनामा परेर २२ जनाको ज्यान गएको थियो । 

पोखराबाट जोमसोमका लागि उडेको विमान खराब मौसमका कारण बीचमै दुर्घटना भएको थियो । त्यसअघि १ वैशाख २०७६ मा समिट एअरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । त्यस्तै, २८ फागुन २०७४ मा बाङ्लादेशको ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो । त्यसै गरी १२ फागुन २०७२ मा पनि पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा चालक दलका सदस्य सहित २३ जनाको ज्यान गएको थियो । २४ फागुन २०७० मा पोखराबाट जोमसोमका लागि उडेको नेपाल एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । यो विमान खराब मौसमका कारण दुर्घटनामा परेको थियो । यी एक दशकमा भएका केही ठूला विमान दुर्घटना हुन् । नेपालमा त्यस अघि पनि थुप्रै विमान दुर्घटनामा ठूलो मानवियसँगै भौतिक क्षति हुन पुगेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update