Shittalpati
लुम्बिनीमा मन्त्री छनोटप्रति काँग्रेसको असन्तुष्टि

पाल्पा, नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका लागि मन्त्री छनोट गरिएको विषयलाई लिएर व्यापक असन्तुष्टि जनाएको छ । केन्द्रबाट मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको हो ।

काँग्रेस प्रदेश सभापति अमरसिंह पुनले मन्त्री छनोट गर्दा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र जनताको निराशा चिर्ने गरी सक्षम मन्त्री छान्नु पर्नेमा त्यस्तो नगरी मन्त्री छनोट गरिएको र मन्त्री छनोटका क्रममा प्रदेश कार्यसमितिलाई बेवास्ता गरिएको काँग्रेस प्रदेश समितिको आरोप छ ।

‘संघीयता एवं समावेशीताको मर्म र पार्टीको विधानअनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिदै नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला नेपाली काँग्रेसका आम साथीहरुको भावनाविपरीत यस किसिमको निरकुंश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेका छौं’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

 पार्टीबाट मन्त्री छनोटको निर्णयलाई पुनर्विचार गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्दै अन्यथा वैधानिक प्रक्रियाविरुद्ध गरिएको यस कार्यबाट असन्तुष्ट जिल्लाका साथीहरुसँग बृहत् छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुनेसमेत सभापति पुनद्वारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ । सभापति पुनले असन्तुष्ट कार्यकर्ताको वृहत भेला गरी यथोचित निर्णय लिने बताएका छन् ।

बुधबार लुम्बिनी प्रदेश सरकामा काँग्रेसले ४ जना मन्त्री पठाएको छ । काँग्रेसको भागमा ५ मन्त्रालय परेका छन् । एक मन्त्री छनोट गर्न बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update