Shittalpati
सिद्धार्थ राजमार्गको हिउँदे खोला सडक एकतर्फी सञ्चालनमा

पाल्पा, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा सडक भासिएपछि रातमा ११ घण्टा बन्द रहेको सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय पाल्पाबाट मर्मतको काम भएको र हाल भासिने क्रम रोकिएकाले आजदेखि रातिमा सडक एकतर्फी  सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिए ।

झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति न्यूनिकरण गर्नका लागि साउन ८ गते मंगलबार बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को व्यवस्था नभएसम्म सम्पूर्ण सवारी साधन आवतजावत गर्न बन्द गरिएको थियो । अहिले पानी रोकिएको र सडकमा ग्याबिन जाली भरेर सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

२७ मिटर लम्बाइमा ४ मिटर चौडाइ र बाँकी भागमा डेड मिटर चौडाइमा ग्याबिन जाली भरिएको छ । सडकको मर्मत एवं भासिने क्रम रोकिएको हुँदा यही अवस्था रहेमा बिहीबारदेखि रातिको समयमा एकतर्फी सडक सञ्चालन ल्याएर काम अगाडि बढाइने सडक कार्यालयका सूचना अधिकारी गौतमले बताए ।

यही ठाउँमा वर्षौं अघिदेखि माथिल्लो भागबाट पहिरो खसिरहने समस्या रहँदै आएको छ । लामो समय एकतर्फी भएको सडकमा केही महिनाअघि मात्र चौडा गरेर दुईतर्फी यातायात सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update