Shittalpati
हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाऊ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको अकालमै ज्यान गयो । विमानस्थलभित्रै दुर्घटना हुँदा पनि समयमा उद्धार हुन नसक्दा धेरैजना मृत्युवरण गर्न बाध्य भए । यसो हुनु दुखद् हो । यो दुर्घटनालाई एयरलाइन्सको लापरवाहीको रुपमा हेरिएको छ । हुन त सरकारले उच्चस्तरीय छानबिन समिति बनाइसकेकाले सो घटनाको वास्तविक कारण बाहिर आउला नै । तर यो कुनै भौगोलिक विकटतामा वा आकस्मिक मौसम खराबका कारण भएको दुर्घटना भने होइन । यस्ता खाले दुर्घटना कमै हुन्छन् । कतिपय देशमा हुने यस प्रकृतिका समान दुर्घटनामा धेरैलाई जीवितै उद्धार गरिएको पाइन्छ । तर नेपालमा भने एयरपोर्टभित्रै दुर्घटना हुँदा पनि सम्बन्धित निकायले समयमै उद्धार गर्न नसक्दा त्यति धेरै मानवीय क्षति भएको विषय गम्भीर र संवेदनशील छ ।

नेपालका आन्तरिक विमानको दुर्घटनामध्ये पछिल्लो दुर्घटना मानवीय क्षतिका हिसाबले ठूलो दुर्घटना मध्यको यो एक ठूलो हो । यो भन्दा ठूला दुर्घटनाहरु पनि यस अघि भएकै हुुन् । यस्ता घटनाले हवाई यात्रा समेत असुरक्षित बन्दै गएको पाइन्छ । बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित हुँदै गएको देखाउँछ । नेपाली आकाशमा २००३ सालदेखि हवाई उडान प्रारम्भ भएको हो । तर, त्यही वर्षमै सिमरामा पहिलो दुर्घटना भयो । त्यस यताका तीन दशकमा २८ जति बीभत्स प्रकृतिका ठूला दुर्घटना भइसकेका छन्, जसमा ठूलो संख्यामा मानविय क्षति भएको छ । पटक–पटकका दुर्घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हवाई यात्रा अत्यन्त जोखिमपूर्ण रहेको नकारात्मक सन्देश प्रवाह भइरहेको छ । यो नपाल र नेपालीका लागि राम्रो कुरा होइन । नेपाली आकाशमै बारम्बार हवाई दुर्घटना भइरहनुमा प्राविधिक त्रुटि, मानवीय कमजोरी र मौसमी प्रतिकूलता रहेको बताइन्छ । त्यसमा पनि ‘प्रतिकूल मौसमका कारण’ भन्ने वाक्यांश प्रायः सबैजसो दुर्घटना छानबीन आयोगका प्रतिवेदनमा देख्न सकिन्छ । तर के कस्तो मौसमी प्रतिकूलता भन्ने किटानी गरिएको पाइँदैन । मौसमी अनुकूलता/प्रतिकूलताको भरपर्दो पूर्वानुमान गरी सुरक्षित उडान भर्न वा उडान मार्गमा आइपर्न सक्ने व्यवधान टार्न सकिने उपायबारे पनि चासो राखेको देखिन्न । यस्तो बेवास्ता मुलुकका लागि ठूलो दुर्भाग्य हो । हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सरकारी तवरबाटै हवाई दुर्घटना हुने कारणहरुको पहिचान गरी त्यसको न्यूनीकरणमा प्रभावकारी कदम चाल्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update