Shittalpati
हैजाबाट बच्न सावधानी अपनाऔं

देशको संघीय राजधानी काठमाडौंमा अहिले हैजाका विरामी बढ्दै गएका छन् । निरन्तर हैजाका बिरामी बढेसँगै सचेचना अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ । तर के के गर्दा के हुन्छ भन्नेतर्फ खासै चाँसो न त सम्बन्धित निकायलाई छ न त सर्वसाधारणलाई नै ।

यसको प्रमुख कारण दूषित पानी र खानेकुरा नै हो । वर्षाको समय भएकाले पानीका मुहानहरु दूषित हुने गर्दछन् । यस्तो दूषित पानी पिउनाले हैजासहित विभिन्न रोगहरु लाग्ने गर्दछ । यो समयमा खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । केही वर्षअघि जाजरकोट र कपिलवस्तु जिल्लामा फैलिएको हैजा नियन्त्रण गर्न निकै हम्मे परेको थियो । नियन्त्रणका लागि खोपकै प्रयोग गर्नु परेको स्मरणीय छ । यद्यपि हैजाविरुद्धको खोपको प्रभावकारिता ७० प्रतिशत मात्रै हुने भएकाले खोपसँगै सरसफाइमा ध्यान दिनु आवश्यक छ । सफा पानी पिउने, शौचालयको प्रयोग, हात धुने जस्ता कार्यमा सचेत नभएसम्म हैजाको प्रकोप फैलिन सक्ने डर सधैँ रहन्छ । काठमाडौंसहित अन्य जिल्लाहरुमा पनि हैजाको महामारी देखिन सक्ने जोखिम छ ।

हैजा विशेष गरी ‘भिब्रियो कोरेला’ नामक ब्याक्टेरियाका कारण लाग्ने अति सङ्क्रामक झाडापखाला हो । हैजा संक्रमण भएको एक सातासम्ममा लक्षणहरू देखा पर्छन् । पातलो (चौलानी) जस्तो दिसा हुन्छ । वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुन्छ । कडा जलवियोजन हुँदा आँखाभित्र गड्ने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तीर्खा, थकाई लाग्ने, छाला सुक्खा हुने, पिसाब पहेंलो रंगको हुने, चिडचिडापन हुने लगायतका लक्षणहरू देखिन्छन् । सरुवा रोग विशेषज्ञहरूका अनुसार, यो रोगबाट मानिसहरूमा अति शीघ्र कडा जलवियोजन भएर बेलैमा उपचार नपाउँदा बिरामीको मृत्यु समेत हुने गर्छ ।

खास गरी हैजा दूषित पानी, बासी तथा सडेगलेका खानेकुरा, काँचा खानेकुरा एवं सङ्व्रmमित व्यक्तिले चलाएका सरसामानको माध्यमबाट सर्छ । झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घटेर केही घण्टाभित्रै ज्यान जाने जोखिम हुन्छ । यस्तो अवस्थामा पानीलाई सकेसम्म उमालेर पिउने, यदि त्यस्तो सम्भावना नभएमा पीयूष तथा अक्वा ट्याब्सजस्ता क्लोरिन हाली उमालेर खानुपर्दछ । यति मात्र नभई बर्सादको समयमा खानेकुरा राम्रोसँग पकाएर खाने र उमालेको पानीलाई सफा भाँडोमा छोपेर राखी आवश्यकता अनुसार पिउने गर्नुपर्छ । यसका साथै बासी खानेकुराहरु समेत खानुहुँदैन । खास गरी सडक छेउछाउ बेचिने खानेकुराबाट पनि हैजा फैलिएको देखिएकाले यसतर्फ पनि सबै सावधान रहनुपर्छ । यी कुराहरुमा पर्याप्त सावधानी नअपनाइए हैजाबाट मृत्यु समेत हुने गर्दछ । तसर्थ यसतर्फ सावधानी अपनाउन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update