Shittalpati
पाल्पाका उद्योगी–व्यवसायीलाई कर शिक्षा

पाल्पा, जिल्लाका उद्योगी–व्यवसायीहरुका लागि तानसेनमा कर सम्बन्धी शिक्षा दिइएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले पाल्पा उद्योग वाणिज्य संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा शुक्रबार कर शिक्षा प्रदान गरिएको हो ।

कर शिक्षा सम्बन्धी जानकारी नहुँदा व्यवसायीले समस्या झेल्नु परेको अवस्थामा सचेतनाका लागि कर शिक्षा प्रदान गरिएको पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ । नेपाल सरकारले व्यवस्था गरेका वर्तमान कर–राजस्व नीति तथा व्यवस्थाको सन्दर्भमा व्यवसायीलाई जानकारी गराइएको हो । सरकाले भ्याट विलमा एचएस कोर्ड प्रणाली अनिवार्य गरेपछि अन्योलमा रहेका उद्योगी–व्यवसायीलाई कर शिक्षामार्फत जानकारी गराइएको छ । करदाता सेवा कार्यालयका कर अधिकृत सन्तोष सुवेदीले कर सम्बन्धी जानकारी, करका प्रकार, बीजक एवं एचएस कोड सम्बन्धी जानकारी, आर्थिक ऐन २०८१/०८२ ले ल्याएका छुट सुविधा सम्बन्धी जानकारी, कर किन तिर्ने ? कर नतिरे के हुन्छ ?, पान भनेको के हो ?, पानका प्रकार, आय विवरणका प्रकार, आय करका दरहरु, व्यसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारवाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या लगायतका करसम्बन्धी विभिन्न जानकारी गराएका थिए । अधिकांश व्यवसायीले सरकारले लागु गर्न खोजेको कर प्रणाली व्यवहारिक नभएको गुनासो गरेका थिए । आफुहरु सरकारलाई कर तिर्न उत्सुकता भएपनि झन्झटीलो परिपाटीले गाह्रो हुने गरेको व्यवसायीहरुले बताएका थिए । सहज र सरल प्रणाली लागु गर्न सकेमा साना व्यवसायीलाई करको मुलधारमा ल्याउन सहज हुने उनीहरुले बताए । पोके व्यापारीहरुका कारण समेत आफुहरु जस्ता व्यवसायी समस्यामा परेकाले बोके व्यवसायी करको उचित खोजी नीति गरिनुपर्नेमा समेत सहभागीहरुले जोड दिए ।

सहभागी व्यवसायीले उठाएका जिज्ञासाको कर अधिकृत सुवेदीले जवाफ दिएका थिए । सरकारले ल्याएको कर प्रणाली अत्यन्तै सरल छ, तर व्यवसायी कर कार्यालय सम्म पुग्नै चाहानु हुदैन उनले भने,‘विचौलियाका कारण कर प्रणाली झन्झटिलो महशुष भएको होला ।’ खरिद र बिक्रिको हिसाब किताव राम्रो सगँ राखेर आएको फाइदाको कर तिर्न किन बिचौलियाको प्रयोग गर्ने ? सुवेदीलेले व्यवसायीलाई भने । बर्षको एक पटक कर कार्यालयमा गएर आफ्नो खाता हेर्ने परिपाटीको बानी बसाल्न सक्ने हो भने कर के हो भन्ने सबैलाई थाहा हुने उनले बताए । अब किन्नेले पनि विल लिने र बिक्रि गर्नेले पनि विल दिने काम गर्नु होला सुवेदीले भने,‘किन्ने र खरिद गर्ने दुवैले बिलको कारोवार नभएमा दुवैलाई सजायको व्यवस्था छ ।’ त्यसैले अनिवार्य खरिद बिक्रिमा विलको प्रयोग गर्न उनले सहभागीलाई सुझाए । कर अधिकृत सुवेदीले आफुले गरेको व्यवसायको हिसाब–किताब चुस्त दुरुस्त राख्न करदाताहरुलाई आग्रह गरे । आफ्नो व्यवसायको कर अधिकृत स्वंय आफै रहेकाले करसम्बन्धी जानकारी आफैले लिनुपर्ने उनको भनाई छ । कर अधिकृत सुवेदीले सरकारले अहिले कर सम्बन्धी छुट ल्याएकाले त्यसको उपयोग गर्न समेत उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे । उनले स्थायी लेखा नम्वर लिई आय विवरण बुझाउन बाँकी रहेका करदाताले २०७९/०८० सम्मको आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोको व्याजको २५ प्रतिशत हुने रकम २०८१ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा हुने,  विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्वर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्वरलिई आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को आय विवरण र सोमा लाग्ने कर २०८१ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज समेत  मिनाहा हुने बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले उद्योगी व्यवसायहरुलाई करका बारेमा भएका अन्यौलताहरु हटाउन र कर तिर्न उत्प्रेरित गर्न कर शिक्षाले महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उनले करको बारेमा नबुझ्दा ब्यवसायमा समस्या हुने गरेकाले बेला–बेलामा संघले उद्योगी व्यवसायीहरुलाई कर सम्बन्धित निकायसँग सहकार्य गरी कर शिक्षा दिदै आएको बताए । सरकारको  नीतिका कारण उद्योगी, व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएकाले त्यसका विरुद्ध संघले बेला बेलामा सरकारलाई दवाब सिर्जना गर्दै आएको अध्यक्ष भट्टराईले उल्लेख गरे । उनले भने ‘हरेक नाममा व्यवसायीलाई दुख दिने काम सरकारबाटै भएको छ, त्यसका विरुद्ध हामी गम्भीर भएर लागेका छौं ।’ स्थानीय सरकारले समेत राजस्व सम्बन्धी विषयमा बुझ्ने र बुझाउन नसक्दा व्यवसायीहरु थप समस्यामा पर्ने गरेको पनि अध्यक्ष भट्टराईले बताए । उनले भने ‘पेट काटेर कर तिर्ने  हामी आफै समस्यामा छौं तर सरकारले हामीलाई नै वेवास्ता गरेको छ ।’

संघका निवर्तमान अध्यक्ष राजु महर्जनले व्यवसायीहरु कर तिर्न तयार भए पनि सरकारले उचित वातावरण सिर्जना गर्न नसकेको गुनासो गरे । उनले प्रश्न गर्दै भने ‘व्यापारी कर तिर्न तयार छन् तर उचित वातावरण सिर्जना छैन्, सरकारले कर करले होइन रहरले तिर्नु पर्ने वातावरणमा बनाउनु पर्दैन ?’ अञ्जानमा भ्याट अपडेट हुन नसके राजस्व कार्यालयले दुख दिने गरेको महर्जनको भनाई छ । ‘जताततै करै कर लिने तर ब्यापार  घाटाले व्यसायी नै पलायन हुनुपर्ने अवस्था सिर्जना हुँदा समेत सरकारले ध्यान दिदैन कस्तो लाजमर्दो कुरा हो’ उनले भने । कार्यक्रम संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता, उपाध्यक्ष उत्तम कुमार बज्राचार्यको धन्यवाद, कोषाध्यक्ष विनय महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update