हेपाटाइटिस भाइरसद्वारा हुने एक सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ ।
हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १० गुणा बढी छ । मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । समयमा ध्यान नपुर्याउने हो भने यसले विकराल रूप लिने निश्चित देखिन्छ । अहिले यस चुनौतीसँग जुध्न धेरै राष्ट्रले सक्रिय रुपमा लागेका छन् । नेपालसहित विश्वभर जुलाई २८, अर्थात आज विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ । हेपाटाइटिस बी भाइरस पत्ता लगाएका प्राध्यापक बारुख सामुएल ब्लुमवर्गको जन्मदिन २८ जुलाईमा हरेक वर्ष विश्वभर हेपाटाइटिस दिवस मनाइन्छ । प्रा.ब्लुमवर्गको सम्झना र भाइरल हेपाटाइटिसबाट हुने स्वास्थ्य समस्याबारे बझ्नु–बुझाउनु यो दिवसको मूल उद्देश्य हो । तर अझै पनि धेरै नागरिकहरु यो रोगबारे अनविज्ञ छन् । नेपालमा हेपाटाइटिस लागेका आधाभन्दा बढी व्यक्तिलाई आफू संक्रमित भएको हेक्का नै छैन । कुनै कारणवश रगत परीक्षण गर्दा हेपाटाइटिस लागेको थाहा भइहाले पनि समाजमा व्याप्त नकारात्मक दृष्टिकोणले गर्दा धेरै बिरामी आफ्नो रोग लुकाउन बाध्य छन् । धेरै बिरामीहरूमा हेपाटाइटिस बी र सीको उपचार सम्भव छ भन्ने समेत जानकारी नै छैन, जुन आजका दिनमा साह्रै दुर्भाग्यको विषय हो ।
हेपाटाइटिस सम्बन्धी जनचेतना, रोकथाम, निदान, नियन्त्रण तथा हेपाटाइटिस बी खोपको ‘कभरेज’ वृद्धि आजको आवश्यकता हो । यो संक्रमण हुन नदिन मानिस स्वयमं आफै सचेत हुनुपर्छ । दुषित पानी तथा खानेकुराको सेवन नगर्ने, खाना खानु अगाडि साबुन पानीले राम्ररी हात धुने, सफासुघरमा बस्ने, फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने, वर्षायाम पानीको सेवन गर्नु पूर्व त्यसलाई राम्ररी उमाल्ने वा उमालेको पानीको मात्र सेवन गर्ने, पानी उमाल्न नसकेको खण्डमा पानीमा क्लोरिनको प्रयोग गर्ने,असुरक्षित यौन सम्बन्ध नराख्ने जस्ता कुरामा हरेक व्यक्ति सचेत हुनै पर्दछ । यसर्थ यी कुराहरुमा सचेत बन्न सके साथै हेपाटाइटिस रोग लाग्नबाट बच्न सकिन्छ ।