Shittalpati
रविको जिन्दगीमा वज्रपात

पाल्पा, जीवनमा यति धेरैदुःखले घेर्ला भन्ने संकेतसम्म पनि थिएन, तानसेन नगरपालिका–८ मदनपोखराका ३२ बर्षिय रवि बस्याललाई । १० वर्ष अघि मदनपोखराबाट जोस जाँगर र मनमा अथाह सपना बोकेर बुटवल झरेका उनी राम्रैसँग काम गर्दै पढ्दै थिए । बुटवलको एक होटलमा कुकको काम गर्दै स्नातक तह अध्ययन गर्दै गरेका बस्यालले सिप सँगै विए पास गरेर स्वदेशमै राम्रै पैसा कमाउने सपना साँधेका थिए । तर उनको सपना यतिकैमा ब्रेक लाग्न पुगेको छ । आफु ताक्छ मुढो बञ्चरो ताक्छ घुडो  भन्ने जस्तै उनको जीवनमा वज्रपात आइपर्‍यो ।

स्नातक तहको अन्तिम बर्षको अध्ययन सकिनै लाग्दा होटलमा काम गर्दा गर्दै रवि विरामी भए । विरामी भएपछि उनी पाल्पा मदनपोखरा घर फर्किए । लामो समयसम्म पनि ज्वरो निको नभएपछी उनले मिसन अस्पतालमा चेक जाँच गराए । रोगको लक्षणको आधारमा ढाडबाट पानी निकाली परीक्षण गराउँदा उनलाई टिभी सहितको म्यानेनजाईटिस भएको रहेछ । उपचारको क्रममा रविको शरिरमा गाठा गुठी आउने, ढाड मुनीको भाग विस्तारै कमजोर हुँदै गयो । उनले विभिन्न अस्पतालहरुमा उपचार गराए तर  रोग निको भएन् । घरमा भएको सम्पतिसँगै आफन्त इष्टमित्रबाट लिएको सापटी समेत उपचारको क्रममा सकियो । रोग झन् बल्झिदै गयो । अहिले रविकोे ढाड मुनीको भाग चल्दैन । उनको ढाड मुनीको भागमा प्यारालाईज भएको छ । उनी अहिले एक ठाउँबाट अर्काे ठाउँमा अरुको सहयोग विना हलचल गर्न सक्दैनन् । जसको कारण उनलाई दैनिकी चलाउन निकै कठिन भएको छ । शारिरिक अपा·तासँगै आर्थिक समस्याका कारण रविको जीवन अहिले अफ्ठेरोमा परेको हो । उनको परिवारमा बाबा, आमा र अन्य दुई भाईसहित ५ जनाको परिवार छ । उनी जेठा छोरा हुन् । बुटवलमा बसेर पैसा कमाउदै  गर्दा रवि घर परिवार सबैका प्यारा थिए । तर अहिले तिनै सबैतिरबाट अपहेलित जीवन जिउन बाध्यता भएका छन् । उनको अवस्था जटिल बन्दै गएपछि आफ्नै जन्म दिने बाबु पनि घर छोडेर अन्यत्र गई बसेका छन् । माईलो भाईले तानसेनमा ज्याला मजदुरी गरेर दाइ रविको हेरचाह गर्दै आएका छन् । रविको आर्थिक अवस्था निकै कमजोर रहेको छ । उनको अझै पनि आफ्नो उपचारमा सुधार हुने र पुराने अवस्थामा फर्किन सकिने आत्मविश्वासका साथ ६ महिनादेखी तानसेन बडिज्ञानटोलको कोरियन थेरापीमा थेरापी गर्दै आएका छन् । राम्रो अस्पतालमा उपचार गराउन सके आफु कम्तीमा आफै दिशा पिसाव गर्न सक्ने, सामान्य किसिमको हिड्डुल गर्न सकिने आशा रविमा रहेको छ । तर आशा मात्र भएर के गर्नु उनले पीडा पोख्दै भने ‘उपचार गर्न पैसा चाहिदो रहेछ  घरपरिवारबाट एक पैसा जुटाउने अवस्था छैन्, कयौ पटक अपा· भत्ता जम्मा गरेर उपचार गर्न गए तर पुनः फलोअपमा पैसा नभएकै कारण जान सकिन ।’ रोग झन् झन् जटिल हुँदै गएको उनको भनाई छ । 

पहुँच नभएको र आवश्यक सहयोग नपाएका कारण उपचार गर्न नसक्दा प्यारालाईज भएर बाच्नु परेको रविले गुनासो गरे । मसँग अपा· भत्ता बाहेक अरु कुनै आम्दानी छैन् कहि कतैबाट सक्दो सहयोग पाए, अझै पनि केही गरेर जीवन बाच्न सकिन्छ भन्ने आत्मविश्वास रहेको रविले बताए । पैसाको अभावमा दिनमा एक छाक  खाना र पानी खाएर दैनिकी गुजार्ने गरेको उनको दुखेसो छ ।

जीन्दगीमा के सोचेको थिए, के भयो ? ’उनले भने ‘२१ बर्ष सम्म म हट्टा कट्टा भएको मान्छे आज अरुको सहारामा बाच्नु परेको छ । तर मैले हिम्मत हारेको छैन । मनमा आशा र भरोसा लिएर बाचेको छु । स्नातकसम्म  पढे लेखेको छु । मलाई सक्दो सहयोगसँंगै केही काम गरेर जिविकोपार्जन गर्न चाहेको छु । शरिरको कम्मर भन्दा मुनीको भागले काम नगर्ने भएकोले घरमै बसेर गर्न मिल्ने काम खोजेको छु तर पाउन सकेको छैन । मेरो शारिरिक अवस्था अवलोकन गरेर मलाई मिल्ने खालको कामको व्यवस्था भए मेरो उपचार र दैनिकी चलाउन सहज हुने थियो ।’  प्रधानमन्त्री केपी शर्मा ओलीले आधा हात भएका फरक क्षमताका गणेश राईलाई जागिर दिएर उदाहरणीय काम गर्नुभएको थाहा पाए, म जस्तो फरक क्षमता भएको व्यक्तिलाई पनि कुनै न कुनै गर्न सक्ने काम दिएर जीवन बचाई दिनुहुन्छ भन्ने विश्वास रहेको उनको भनाई छ । कहि कतैबाट काम पाए बाच्न सकिएला नपाए मेरो जीवन कष्टकर रुपमा अन्त्य हुने उनले सुनाए । रविको  दिमागी अवस्था ठिक छ  । उनी अहिले हुइलचियरमा बसेर कोठामा खाना पकाउने गर्दै आएको छन् ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update