Shittalpati
सुनको मूल्य प्रति तोला एक हजारले बढ्यो

पाल्पा, नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक हजारले सुनको मूल्य बढेको हो ।

छापावाला सुन शुक्रबार प्रतितोला  एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा बढेर एक लाख ४५ हजार सात सय पुुगेको छ ।  अघिल्लो दिन प्रतितोला एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन बढेर एक लाख ४५ हजार निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य  तोलामा १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३० मा कारोबार भएको चाँदी बढेर एक हजार सात सय ४० निर्धारण भएको छ । साउन २ गते सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको  थियो ।  त्यति बेला छापावाला सुनको प्रतितोला मूल्य १ लाख ४९ हजार ८ सय  पुुगेको हो । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १ सयमा कारोबार भएको थियो । सुनको भाउले यतिबेला विश्व बजार नै तताई रहेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो । नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update