Shittalpati
त्रिशूूली दुर्घटना :  बेपत्ता बस र यात्रुु नभेटाई फर्कियो भारतीय टोली

पाल्पा, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा बगेर त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि आएको भारतीय उद्धार टोली फर्किएको छ । साउन ५ गते आइतबारदेखि खोजी कार्यमा जुुटेको भारतीय टोली बेपत्ता बस र यात्रुु नभेटाई आइतबार फर्किएको हो ।

खोजीका लागि आएको भारतीय प्राविधिक टोलीले चुम्बक प्रयोग गरे पनि बसको कुनै पत्तो लागेन । गोताखोर र सोनार क्यामेरासहित खोजीमा संलग्न भारतीय टोलीले शनिबार १४ किलो र १९ किलोका दुईवटा चुम्बक प्रयोग गरेका थिए । तीमध्ये १९ किलोको चुम्बक त्रिशूलीमै हराएको छ । लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि टोली फर्किएको हो । उनीहरुलाई  आइतबार बिदाइ गरिएको छ ।

असार २८ गते शुक्रबार बिहान काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस नारायणगढदेखि करिब २३ किलो मिटरपूर्व उत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । दुवै बसमा ६५ यात्रु थिए भने बस त्रिशूलीमै पुगे पनि एञ्जल बसका तीनजना यात्रुले आफैं पौडिएर ज्यान जोगाएका थिए । बाँकी ६२ जना र दुई बस त्रिशूलीमा बेपत्ता भएकोमा हालसम्म २४ वटा शव फेला परेको चितवन प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष तथा सूचना अधिकृत भेषराज रिजालले जानकारी दिए ।

भेटिएका शवमध्ये दुई वटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ । सनाखत भएका शवमा १६ वटा पुरुषको हो भने दुई वटा महिलाको रहेको प्रहरीले जनाएको छ । त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिक हुन् भने पाँच वटा भारतीय नागरिकका रहेको जनाइएको छ । बेपत्ता २५ जनाको शव फेला परेको भनिए पनि  कालीगण्डकी नदीमा बेपत्ता पाल्पाको रामपुरकी ५२ वर्षीय मायादेवी विकको शव रहेको डिएसपी रिजालले एनजेडीसँगको कुराकानीमा बताए । उनले ति महिलालाई समेत बेपत्त मध्येको सूचीमा राखिएकोले २५ जना भनिएको हुन सक्ने उल्लेख गरे । बेपत्ता बस र शवको खोजीमा अब नेपाली प्राविधिकहरुको टोली मात्रै परिचालन हुने बताइएको छ । चार गोताखोरसहित आएका १२ जना प्राविधिकहरूले अघिल्लो आइतबारदेखि खोजीमा सघाएका थिए ।

 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update