Shittalpati
बाघ संरक्षण आजको आवश्यकता

बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले महत्वपूर्ण योगदान पुर्‍याएको छ । खाद्य शृड्ढलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलन गराउन समेत यसको उल्लेखनीय योगदान रहन्छ । तर बाघको सरंक्षणमा भने चुनौति देखिएको छ । पछिल्ला वर्षहरूमा नेपालमा बाघको संख्या उल्लेख्य रूपमा बढेको छ । बाघको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा मानव–बाघबिच द्वन्द्व समेत बढ्ने जोखिम उत्तिकै छ । देशका केही राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संख्या वृद्धि भइरहेको छ । वन्यजन्तुको बढ्दो भीडले निकुञ्जहरु साँघुरिएर बाघको प्राकृतिक वृद्धिका लागि प्रतिकूल बनिरहेका छन् ।

नेपालले बाघ वृद्धि गर्ने विषयमा चासो दिए पनि त्यसको दीगो संरक्षणमा भने त्यत्ति चासो दिएको देखिदैन । बाघको संख्या बढेसँगै यसको दीगो संरक्षणमा चुनौती थपिएको छ । मानवसँगको बढ्दो द्वन्द, साँघुरिएको बासस्थान र आहारा अभाव लगायत चोरी सिकारीको थ्रेट पछिल्लो समय बाघ संरक्षणमा प्रमुख चुनौतीका रुपमा देखिएको छ । बाघको संख्यात्मक वृद्धि भएसँगै मध्यवर्ती क्षेत्रका वनहरुमा हिँडडुल बढेको पाइन्छ । विकास निर्माण लगायत वनक्षेत्र अतिक्रमणका कारण बाघको नयाँ बासस्थानमा समस्या आएको छ । घाँसेमैदानहरु घट्न गई आहारा प्रजातीको वृद्धिदर घटेको छ । बाघको बासस्थान पनि चरम रुपमा अतिक्रमण भइरहेको छ । यस्तो अवस्थामा बाघहरुको आहारा र सुरक्षित वासस्थानको ब्यवस्थापन गर्न  आवश्यक छ । हुन त बाघ संरक्षणसम्बन्धी जनचेतना फैलाउने मुख्य उद्देश्यले  आजकै दिन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । तर बाघ संरक्षण भने हुन सकिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो । बाघको चोरी शिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार समेत हुने गरेको छ । यसलाई रोक्नुु पनि अहिलेको आवश्यकता हो । बाघ र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय बासिन्दाको वन पैदावार माथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रमहरू सञ्चालन गर्न सकियो भने बाघ संरक्षण गर्न सकिन्छ । यसर्थ तीनै तहका सरकारले बाघ संरक्षणमा ध्यान दिन जरुरी छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update