Shittalpati
आज विश्व बाघ दिवस मनाइँदै

पाल्पा, आज विश्व बाघ दिवस  नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थानको संरक्षण, जनचेतना वृद्धि,  संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजको दिन यो दिवस मनाउने गरिएको हो ।

गत वर्षदेखि यस दिन नेपाल टेलिकमका टेलिफोन सेवामा बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था समेत गर्ने गरिएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने विभिन्न १३ मुलुकका राष्ट्र र सरकार प्रमुखको सम्मेलनले विश्वमा बाघको संख्या दोब्बर पुर्‍याउने संकल्प गरेको थियो । सो संकल्पअनुसार नेपालले हरेक वर्ष बाघ संरक्षणका विषयमा चासो दिदै यो दिवस मनाउने गरेको छ । बाघ संरक्षणका लागि सरकारले वार्षिक करोडौं बजेट समेत विनियोजन गर्दै आएको छ । तर पछिल्लो समय बाघहरुको उचित व्यवस्थापन  हुन सकेको छैन् । वन्यजन्तुको बढ्दो भीडले निकुञ्जहरु साँघुरिएर बाघको प्राकृतिक वृद्धिका लागि प्रतिकूल बनिरहेका छन् । नेपालले बाघ वृद्धि गर्ने विषयमा चासो दिए पनि त्यसको दीगो संरक्षणमा भने त्यत्ति चासो दिएको देखिदैन । बाघको संख्या बढेसँगै यसको दीगो संरक्षणमा चुनौती थपिएको हो ।

मानवसँगको बढ्दो द्वन्द, साँघुरिएको बासस्थान र आहारा अभाव लगायत चोरी सिकारीको थ्रेट पछिल्लो समय बाघ संरक्षणमा प्रमुख चुनौतीका रुपमा देखिएको छ । विकास निर्माण लगायत वनक्षेत्र अतिक्रमणका कारण बाघको नयाँ बासस्थानमा समस्या आएको छ । घाँसेमैदानहरु घट्न गई आहारा प्रजातीको वृद्धिदर घटेको छ । बाघको बासस्थान पनि चरम रुपमा अतिक्रमण भइरहेको छ । बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । जगंलको राजा भनिने बाघ सुगठित शरीर भएको बलियो र सुन्दर स्तनधारी जनावर हो । यो बिरालो परिवारको सबैभन्दा ठूलो प्रजाति हो । यो खाद्यचक्रको उपल्लो तहमा पर्छ । छालाको पहेंलो भुईंमा काला पाटाहरुले बाघ आकर्षक देखिन्छ र प्रत्येक बाघमा पाटाहरु फरक–फरक हुन्छन् ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update