Shittalpati
महँगीको मारमा उपभोक्ता

पाल्पा, दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि । खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य कम्तीमा १० देखि १५ प्रतिशत बढेको छ । उपभोग्य वस्तुको मूल्य आकासिए पनि अनुगमन गरी बजारलाई नियमन गर्नेतर्फ सम्बन्धित निकायले चासो राखेका छैन, जसको प्रत्यक्ष मारमा आमउपभोक्ता पर्दै आएका छन् ।

खास गरी बजारमा चिनी, तेल, मरमसला, आलु, प्याज, तरकारी, फलफूललगायतका खाद्यवस्तु अत्यधिक महँगिएको छ । उपभोग्य वस्तुको मूल्य आकासिएपछि  न्यून आय भएका किसान तथा दैनिक मजदुरी गर्ने श्रमिकका लागि भान्सा चलाउनै कठिन हुने गरेको छ । कमाइ नबढ्ने तर महँगी भने दिनदिनै बढिरहने समस्याले सीमित आय भएकालाई जीवनयापन गर्न कष्टकर बन्दै गएको तितो यथार्थबाट अनभिज्ञ कोही छैन । चाडपर्वमा मात्र नभएर बर्खामा पनि तरकारीको बजारभाउ उसरी नै महँगिने गरेको छ । देशका ठूला शहरमा जस्तै पाल्पाका बजारमा पनि महँगी यतिबेला आकासिएको आमउपभोक्ताको गुनासो छ । पाल्पाको तानसेनमा १५ दिन अघि ५० रुपैयाँ किलोमा बिक्री भएको आलु यसै साता ६५ देखि रुपैयाँमा किनबेच भएको छ । सुकेको प्याजमा २० रुपैयाँ भाउ बढेको छ । दुई हप्ता अघि ८० रुपैयाँ किलोमा बिक्री भएकोमा अहिले १०० रुपैयाँ पुगेको छ । काउली प्रति केजी १ सयदेखि १ सय २०, बोडी प्रतिकेजी १ सय ६० रुपैयाँमा विक्री हुँदै आएको खुद्रा व्यवसायीहरु बताउँछन् । बजारमा १५ दिन अघि एक सय रुपैयाँमा विक्री हुँदै आएको चिनी अहिले एक सय १० रुपैयाँमा विक्री हुँदै आएको छ । स्याउ प्रतिकेजी ३ सय ५०, आँप प्रति केजी १ सय ४० देखि १ सय ६० रुपैयाँमा विक्री भएको छ । उपभोक्ताको भान्सामा अनिवार्य प्रयोग हुने यी खाद्यवस्तुको भाउ निकै बढेको छ । तरकारी र फलफूलको मूल्यवृद्धि भएपछि निम्न आम्दानी भएकालाई दैनिक गुजारा चलाउन हम्मेहम्मे छ । 

सानोतिनो कमाइले परिवार पाल्न गाह्रो भएको तानसेन भगवतीटोलकी शान्त ढकालले सुनाइन । दैनिक एक हजार रुपैयाँले चार जनाको परिवारलाई सामान्य खाएर दुई छाक टार्न गाह्रो भएको अनुभव उनको छ । ढकालले भनिन्, ‘काम गरेको ठाउँमा तलब बढेको छैन, १५ दिनको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।’ तरकारीको भाउ बढेर भान्सा चलाउन हम्मे हम्मे परेको तानसेनको शितलपाटीस्थित तरकारी पसलमा भेटिएकी भिमा कार्कीले बताइन् । ‘निम्न तलब हुनेलाई घरखर्च चलाउनै कठिन छ,’ उनले भनिन् । तरकारीको भाउ बढ्नुमा बिचौलिया प्रमुख कारण हुन् । किसानले कम मूल्य पाएका छन् भने उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य छन् । ढकाल र कार्की त प्रतिनिधि पात्र मात्रै हुन् । महँगीको चर्को मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् । महँगीका कारण निम्न आय भएकाहरु मात्र होइन, कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीहरु समेत बढी मर्कामा परेका छन् । अचाक्ली महँगीका कारण अड्कालेको पैसाले साझाँ, विहानको भान्सा चलाउनै सकस भइरहेको विद्यार्थीहरुको गुनासो छ । तानसेनको मखनटोलमा कोठा भाँडामा बस्दै आएकी  माथागढीकी रुकमाया सारुलाई महंगीले सकस बनाएको छ । विगत तीन वर्षदेखि अध्ययनका लागि तानसेनमा बस्दै आएकी उनी त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् । उनी बजारमा भाउ अचाक्ली बढेको बताउँछिन् । घरबाट बुवा आमाले ३ महिनाका लागि भनेर अड्कलेर खर्च पठाइदिनुहुन्छ तर महंगीले गर्दा त्यो खर्चले १ महिना पनि धान्न धौंधौं हुने गरेको उनको गुनासो छ । ‘साँझ, बिहानको तरकारी किन्नकै लागि साथमा दुई/तीन सय रुपैयाँ नभएसम्म हुँदैन । यसरी बजारमा बसेर पढ्न नसक्ने अवस्था आयो’ सारुले भनिन् ।

सारु मात्रै होइन अध्ययनका लागि घर छाडेर बजार आएका सामान्य परिवारका विद्यार्थीहरुलाई महंगीले सास्ती खेप्नु परेको छ । तरकारी पनि ठाउँ हेरेर सस्तो वा महँगो छ । थोक विक्रेता कहाँबाट किन्दा केही सस्तो भएपनि चोक चोकमा खुद्रा पसलमा आइपुग्दा तरकारीको भाउ जिब्रो नै टोक्न मन लाग्ने गरी महँगो छ । चामल, गहुँ दालसमेत सबै खालका खाद्यवस्तु बढेको छ । व्यापारीहरुले चिनी, तेलको भाउ आफूखुसी बढाएका छन् । महँगीको प्रभाव सबैतिर देखिएको छ । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने जिम्मा पाएका सम्बन्धित निकायहरु नै सामान्य मूल्य वृद्धि स्वाभाविक भएको ठान्छन् । जसका कारण विद्यार्थी जस्तै निम्न आय भएका नागरिक समस्यामा परेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update