Shittalpati
देशभर ९२ प्रतिशत रोपाइँ सकियो

पाल्पा, देशभर ९२ प्रतिशत रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १३ साउनसम्म ९२ दशमलव ४ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क उल्लेख छ । मन्त्रालयका अनुसार धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २ सय २१ हेक्टरमा रोपाइँ सकिएको हो ।

प्रदेश अनुसार लुम्बिनी प्रदेशमा ९१.३ प्रतिशत रोपाइँ भएको छ । जहाँ ३ लाख ११ हजार ६ सय ४३ मध्ये २ लाख ८४ हजार ४ सय ८५ हेक्टरमा रोपाइँ भएको हो । यस्तै गण्डकी प्रदेशमा ९१.९ प्रतिशत अर्थात् ९६ हजार ५३ हेक्टरमध्ये ८८ हजार २ सय ५२ हेक्टर रोपाइँ भएको छ ।

सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । यहाँ १ लाख ७४ हजार ७६ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७३ हजार ७ सय ९९ हेक्टर रोपाइँ भएको हो । यस्तै कर्णाली प्रदेशमा ४१ हजार ९ सय ४ हेक्टरमध्ये ४० हजार ६ सय २३ अर्थात ९६.९ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी बागमती प्रदेशमा ९०.८ प्रतिशत अर्थात् १ लाख १२ हजार २ सय २३ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये १ लाख २ हजार हेक्टरमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ । यस्तै कोसी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये ९०.७ प्रतिशत अर्थात् २ लाख ५० हजार ६ सय २४ हेक्टरमा रोपाइँ भएको छ । धान खेती हुने सबैभन्दा धेरै क्षेत्रलफल भएको मधेश प्रदेशमा ९२ प्रतिशत सकिएको छ । ३ लाख ८३ हजार १ सय ५० हेक्टर क्षेत्रफलमध्ये ३ लाख ५२ हजार ४ सय ४३ हेक्टरमा रोपाइँ भएको हो ।

गत वर्ष यही समयमा ७८ दशमलव १ प्रतिशत  मात्र रोपाइँ भएको थियो । यसपालि समयमा मनसुन सुरु भई नियमित पानी परेका कारण समयमा रोपाइँ भएको हो ।

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update