छैटौ शताब्दीमा चिनबाट निस्किएको “त्सिंगपाओ” मासिक पत्रि नै विश्वको पहिलो प्रकाशित पत्रिका हो । समयको क्रमसंगै तुंग राजाहरूको शासनकालमा सन् ६१८ देखि ९०५ सम्म “पेकिङ गजेट” प्रकाशित भयो । पेकिङ गजेट र जुलियस सिजरको “एकटा डिउर्ना” लाई पत्रपत्रिकाको इतिहासमा अग्रपंक्तिमा स–सम्मान राखिन्छ ।
दशौंदेखि चौधौं शताब्दीसम्मको पत्रपत्रिकाको इतिहास खोजी हुन जरूरी छ । पन्ध्रौं शताब्दीमा आइपुग्दा जर्मनीहरूले पाण्डुलिपि पत्रिकाको शुरूवात गरे । सन् १९५६ मा भेनिसमा “नोटिजी स्कुते” नामक पत्रिकाको प्रकाशन प्रारम्भ राज्य पक्षद्वारा नै भयो ।
आधुनिक स्वरूपको समाचार पत्र नेदरल्यान्डबाट सन् १५२६ देखि प्रकाशन भएको “न्युजाइटुङ” पत्रिकालाई पत्रकारिताका इतिहासकारहरूले मान्दै आएका छन् । बेलायतमा सन् १४७०–१४८० को दशकमै छापाखानाको विकास भएको थियोे । यद्यपि बेलायतबाट आधुनिक स्वरूपको पत्रिका भने सन् १६२२ मा प्रकाशित भयो । यसको नाम “विकली न्युज” थियो । बेलायतबाटै सन् १७०२ देखि दैनिक पत्रिकाको रूपमा “द लण्डन डेली करेण्ट” प्रकाशित भयो । त्यतिबेला पत्रकारहरूलाई सरकारका कार्यहरू छाप्ने अधिकार थिएन । सन् १७६३ मा पत्रकार जाँन बिकलिजद्वारा छेडिएको अभियानपछि पत्रकारहरूले “पार्लियामेन्ट प्रेस ग्यालरी” मार्फत सरकार र राज्यका गतिविधिहरू समेत छाप्न पाए । यही क्रममा बेलायतमा सन् १८२१ देखि प्रख्यात पत्रिका “म्यानचेष्टर गार्जियन” को स्थापना भयो ।
अमेरिकामा शुरूमा हस्तलिखित पत्रपत्रिका नै प्रकाशित थिए । पेशेवर लेखकहरूद्वारा नै हस्तलिखित पत्रिका प्रकाशित हुन्थ्यो । अमेरिकामा सन् १६९० मा “पब्लिक आकरेन्सेस” को प्रकाशन भयो । यसपछि सन् १७९३ मा “मिनर्वा” दैनिक प्रकाशित भयो । मिनर्वाका सम्पादक ह्नोवष्टर नै यहाँको पत्रकारीताको पहिलो सम्पादक भए । फ्रान्समा सन् १६३१ , रूसमा सन् १७०२ र टर्कीमा सन् १७९५ देखि पत्रिका प्रकाशनले निरन्तरता पाएको देखिन्छ । छिमेकी राष्ट्र भारतमा १९ जनवरी १७८० देखि “बंगाल गजेट” प्रकाशन भयो । यो अंग्रेजी भाषामा थियो । सन् १८२६ देखि हिन्दी भाषामा पहिलो पत्रिका “सम्वाद कौमुदी” प्रकाशित भयो । नेपालमा प्रधानमन्त्री जंगबहादुर राणाको पालामा वि.सं १९०८ मा एउटा हाते प्रेस नेपाल ल्याइयो । यही क्रममा नेपालको जेठो जिवित पत्रिका हुने सौभाग्य वि.सं १९५८ साल जेष्ठ ३ गते मंगलबारदेखि प्रकाशन प्रारम्भ भएको “गोरखापत्र” ले पायो ।
छापाखानाको इतिहासको कुरा गर्दा पनैं शताब्दीमा जान गुटेनवर्गले सर्वप्रथम छाप्ने मेसिनको आविस्कार गरे । यस मेसिनमा टाइपमाथि कागज राखी थिची छापिन्थ्यो । यसको करीब २५० बर्षपछि बेन्जामिन फ्रेकलिनले फेरि नयाँ किसिमको छाप्ने मेसिन बनाए । यी सबै काठका मेसिन थिए । सन् १७९८ सालमा फलामको पहिलो प्रेस मेसिन बन्यो । यो मेसिन पेचको उपयोगद्वारा चल्दथ्यो । सन् १८२७ मा लीवरयुक्त मेसिन बन्यो । पछि सन् १८३४ मा बाफद्वारा चल्ने मेसिन बन्यो । यो एडम प्रेसको नामले संसार प्रसिद्ध भयो । समयको क्रमसंगै बेलायतमा पहिलोपल्ट सिलिण्डर प्रेस बन्यो । सन् १८७५ मा छाप्ने र पट्याउने मेसिनयुक्त प्रेस बन्यो र सन् १८८१ मा पहिलोपटक त्रिकोण फार्मर प्रेस मेसिन बन्यो ।
नेपालमा छापाखानाको स्थापना वि.सं १९०८ देखि भएको हो । प्रधानमन्त्री जंगबहदुर राणा बेलायत भ्रमणबाट फर्किए लगत्तै साथमा ल्याएको छाप्ने मेसिनलाई ‘गिद्दे प्रेस’ को नाम दिईएको हो । गिद्धको जस्तो आकृति देखिएकाले मेसिनको नाम गिद्दे प्रेस राखिएको हो । शुरूमा थापाथलीमा राखिएको यस मेसिनले हुलाक टिकट, खाम र हवाई पत्रहरू छाप्ने काम गर्यो । बोलिचालीमा गिद्दे प्रेस भने तापनि यसको नाम ‘टाइप छापाखाना’ रहेको थियो । प्रधानमन्त्री जंगबहादुरकै पालामा नेपालमा फेरि अर्को छाप्ने मेसिन ल्याइयो । जसलाई ‘मनोरञ्जन छापाखाना’ भनियो । यसले वि.सं १९१८/१९ सालदेखि नै पुस्तकहरू छाप्न शुरू गर्यो । काठमाडौं ठहिंटीमा रहेको यस प्रेसले सबैभन्दा पहिले ऐनको किताब छाप्यो । वि.सं १९३० पछि नेपालमा फेरि अर्को प्रेस ल्याइयो जसलाई ‘छापाखाना’ मात्र भनियो । पछि जंगी लिथोग्राफी छापाखाना समेत स्थापना भयो । वि.सं. १९६३ मा आइपुग्दा दुईवटा हाते छापाखाना पनि नेपालमा ल्याइयो । नेपालमै छाप्ने मेसिन प्रेसको आविष्कार वि.सं १४४९ मा भएको थियो । काठमाडौं पोखल्ड्याङ निवासी कुवेररत्न बज्राचार्यले नेपालमै फलामे हातको मेसिन आविष्कार गरेका थिए । यसको नाम ‘बुद्ध प्रेस’ थियो । यस प्रेसबाट संस्कृत ,बुद्ध र हिन्दु धर्म ग्रन्थसँग सम्बन्धित पुस्तकहरू छापिए । पछि यो अन्नपूर्ण प्रेसको रूपमा रह्यो ।
वि.सं १९७२ सम्म आईपुग्दा क्रमशः ढोकाटोल,नारायण ,भगवती र सरस्वती प्रेसहरू स्थापना भए । वि.स. १९६९ सालमा बिजुलीबाट चल्ने छापाखाना नक्सालमा स्थापना भयो । यस प्रेसबाट गोरखापत्र छाप्न सजिलो भयो । बिजुली छापाखाना नेपालको पहिलो इलेक्ट्रोनिक छापाखानाको रूपमा रह्यो ।
स्रोत : देवकोटा ,ग्रीष्मबहादुर (२०५९) नेपालको छापाखाना र पत्रकारिताको इतिहास ,काठमाडौं : साझा प्रकाशन ।
( लेखक पाल्पा साहित्य समाजका अध्यक्ष र पाल्पाका स्थापित साहित्यकार समेत हुन् ।)