Shittalpati
आज मानव बेचबिखनविरुद्धको दिवस, अझै रोकिएन मानव बेचबिखन

पाल्पा, अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न यो दिवस मनाउने गरिएको हो ।

हरेक वर्षको ३० जुलाईको दिन संयुक्त राष्ट्र संघले मानव बेचबिखनसम्बन्धी जनमानसमा सचेतना फैलाउन यो दिवस मनाउँदै आएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले पनि सो दिवस मनाउन थालेको हो । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् । महिला बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्दार गर्न सरकारले पुनःस्थापना केन्द्रहरु समेत स्थापना गरेको छ । नेपालबाट बर्षेनी हजारौ युवायुवती रोजगार तथा अन्य बहानामा खाडी तथा भारतीय भूमिमा बेचबिखनमा पर्दै आएका छन् । मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अ· प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी सड्ढट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । वैदेशिक रोजगारीका नाममा महिलालाई विभिन्न मुलुकमा तस्करी गर्ने संयन्त्र गाउँसम्मै फैलिएको छ । हिजो गाउँका सोझा, अशिक्षित र आर्थिक स्थिति कमजोर भएका महिलालाई झुक्याएर कोठीहरूमा लगेर बेचिन्थ्यो भने अहिले वैदेशिक रोजगारीका नाममा झुक्याएर मानव बेचबिखनको काम भइरहेको छ । दलालहरूले विभिन्न प्रलोभनमा पारेर कुवेत, ओमन, यूएई, कतार, साउदी अरेबिया जस्ता देशहरूमा घरेलु कामदारमा पठाइरहेका छन् । तस्कर, दलालहरू वैदेशिक रोजगारको आवरणमा खुल्लमखुला भारतको बाटोहुँदै खाडी मुलुकहरूमा बेचबिखन गर्ने काममा सक्रिय छन्, तर यसतर्फ कसैको पनि ध्यान जान सकेको छैन् । सरकारले यस कार्यलाई नियन्त्रण गर्नका लागि अनेकौ उपायहरूको अवलम्वन गरे पनि अपेक्षित रुपमा  रोक्न सकिराखेको छैन ।

पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ । मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ । मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरूको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update