पाल्पा, आज साउने पन्ध्र पर्व मनाइँदै छ । साउन १५ मा रोपाइँ सकेर खिर खाने चलन छ । किसानहरुले साउन १५ लाई विशेष खिर खाने दिनका रुपमा मनाउने गरेका छन् । पहिले ग्रामीण क्षेत्रमा बढी मनाइने खिर खाने चलन पछिल्लो समय सहरी क्षेत्रमा पनि मनाउने प्रचलन बढ्दो छ ।
धान रोपाइँ सकेको खुसीयाली स्वरूप कृषकहरूले वर्षाैंदेखि खिर खाने पर्व मनाउँदै आएका छन् । नेपाली समाजमा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने चलन छ । परापूर्वककालदेखि नै पुर्खाहरूले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएको पाइन्छ । बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले खिर खाने परम्परा विकास भएको संस्कृतिविद्हरु बताउँछन् । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको पाइन्छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । असारे चटारो पछिको फुर्सदका साथै वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खिर खाने गरिन्छ ।
धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप साउन पन्ध्रमा खिर खाने चलन रहेको पाल्पा बगनासकालीकी संगीता न्यौपानेले बताईन् । उनी भन्छिन् ‘साउन महिनामा गाउँ–घरमा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा र धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।’ साउन १५ मा खिर खाने चलन पुरानै रहेको माथागढी देउगीरका सुरेन्द्र रायमाझी बताउँछन् । असारभरी पानी र हिलोमा खेल्दा सर्दी लाग्ने र तातो र पोषिलो खिर खाँदा सर्दिबाट जोगीने विश्वास रहेको उनको भनाई छ ।
हराउँदै खिरमा मौलिक स्वाद
पछिल्लो समय गाउँघरमा गाई, भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद भने हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएको हो । कुनै बेला पाल्पा र गुल्मीका गाउँघरमा गाई भैँसीपालन गर्ने किसानले अहिले पाल्न छाडेका छन् । केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुई देखि तीन वटा भैँसी÷गाई हुन्थे तर अहिले आएर तिनै गाउँमा गाई÷भैँसी पाइन छोडेका छन् । भैँसी दूध, दही, मही र मल उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा किसानले गाई÷भैँसी पाल्न छाडेका छन् । काम गर्न सक्ने छोरा, बुहारी विदेश र सहर पसेपछि घरमा रहेका बूढाबुढीले काम गर्न नसक्दा गाउँमा गाई, भैंसी पालन हराउँदै गएको हो ।
गाई– भैंसी पाल्नै छोडेपछि बजारमा पाइने दूधबाट बनाइने खिरको मौलिक स्वाद भने नहुने बूूढापाका बताउँछन् । हरेक वर्ष साउन १५ मा खिर खाने चलन छ तर पछिल्लो समय गाउँघरमा गाई, भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद हराउँदै गएको हो । वर्षको एकदिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खिर बनाएर खाने चलन अहिले बढेको छ । डेरीको दूधबाट बनाइएको खिरको मौलिक स्वाद नै छैन । पहिले जस्तो खिरमा मौलिक स्वाद नभएको पुराना पुस्ताहरुको गुनासो छ । ‘पहिले–पहिले घरमै भएको दूधबाट बनाइएको खिरको स्वाद नै बेग्लै हुन्थ्यो, अहिले भने डेरीबाट किनेर ल्याएको दूधको खिर खासै स्वादिष्ट हुँदैन’, गुल्मी इस्माकी कमला मल्लको भनाई छ । आधुनिक जीवनशैलीका नाममा खाद्य संस्कृतिमा समेत व्यापक फेरबदल आएको छ । विविधतापूर्ण, सन्तुलित र पोषणयुक्त खाना खानेभन्दा पनि तत्कालको स्वादको बखान र बहकाउमा बजारबाट किनेका, प्लास्टिक पोकामा राखेका तथाकथित मीठो–मसिनो खाएर सभ्य हुने लहड चलेको छ ।
किनेर पत्रु खाना नखाए असभ्य र पाखेमा दरिने त्रास सबैतिर व्याप्त छ । यो फेरबदलले खानेकुराबारे हाम्रो परम्परागत सकारात्मक सोच र ज्ञानसँगै पोषणयुक्त स्थानीय रैथाने खानेकुरासमेत ओझेलमा परेका छन् । हाम्रा भान्सामा विषाक्त र पत्रु खानको बिगबिगी छ । आफ्नो मौलिक संस्कृति उन्नत बनाउने कुरा बिर्सेर अरूको देखासिकीको पछि लाग्दा हाम्रो कृषि तथा खाद्य प्रणाली अस्तव्यस्त बन्दै ध्वस्त हुँदै छ ।