Shittalpati
तानसेनमा सुनका गहना ठगी गर्ने  चार जना पक्राउ 

पाल्पा,  सर्वसाधारणलाई ललाईफकाई गरी विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने  चार जना पक्राउ परेका छन् । तानसेनका विभिन्न स्थानमा पुगेर नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका –३ झुम्साका ६३  वर्षीय चुरामणी गाहा मगर, रुपन्देहीको सैनामैना नगरपालिका –८ का ४२ वर्षीय गुञ्जबहादुर मगर, रुपन्देहीकै कञ्जन गाउँपालिका– १ का ३३  वर्षीय लक्ष्मण कुमाल र रुपन्देही ओमसतिया गाउँपालिका –५ घर भई हाल बुटवल उपमहानगरपालिका लक्ष्मीनगरमा डेरा गरी बस्ने ५३ वर्षीय गिरी बहादुर थापा भुजेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । 

ति व्यक्तिहरुले गत वर्ष भदौ २६ मा तानसेन नगरपालिका –४ होलादीस्थित मनकामना होटेल नजिकै तिनाउ गाउँपालिका –५ भोक्तछापकी ५७ वर्षीया बमिसरा रानालाई नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना लगेका थिए । उनीहरुले ति महिलाले लगाएको १ तोला सुनको कुण्डल रिङ झिकेर भागेका थिए । यस्तै गत चैत १८ मा तानसेन– ६ लहरेपिपलमा बगनासकाली गाउँपालिका– ९ चापपानीकी ६३  वर्षीया डोल कुमारी थापाले लगाएको १ तोला १२ लालको सुनको रिङ कुण्डल झिकेर उनीहरु भागेका थिए । यस्तै  उक्त समूहले गत  जेठ २७ मा तानसेन –३ प्रगतीनगर टोलमा रिब्दीकोट  गाउँपालिका–७ की ५७ वर्षीया भुमी कुमारी गाहाले लगाएको १ तोलाको सुनको रिङ कुण्डल झिकेर भागेको थियो । निवेदकहरुको आधारमा प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको थियो ।

प्रहरीले ठगी गर्ने व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा सोमबार तानसेनको टुँडिखेलस्थित साझा फेन्सी पसल नजिकैबाटै पक्राउ गरेको हो ।  प्रहरीले बाटोमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा फेला पारी उनीहरुलाई रोकी सोधपुछ गरी शरीर खानतलासी गर्ने क्रममा चुरामणी गाहा मगरले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा सुनको डल्ला भनी झुक्याएको जस्तो बस्तु फेला पारेको थियो । प्रहरीले उनीहरुको साथबाट पहेलो रंगको चारपाटे धातु एक थान, निवेदन साथ पेश गरेको पहेलो रंगको चारपाटे धातु ३ थान बरामद गरिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान  अगाडि बढाइएको प्रहरी निरीक्षक बेल्वासेले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update