यति बेला नेपाली बजारमा उपभोग्य वस्तुमा अनियन्त्रित रुपमा मूल्य वृद्धि भएको छ । मुलुकमा मूल्यवृद्धि हुनलाई कुनै चाडपर्व कुर्न पर्दैन । राजनीतिक अस्थिरता देखिए मात्र पनि बजार भाउ ह्वात्तै बढिहाल्छ । त्यसको मारमा भने आम उपभोक्ता पर्दछन् ।
अहिलेको बढ्दो अस्वाभाविक महँगी पनि त्यसैको परिणाम हो । दिन–प्रतिदिन आकासिंदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहे पनि सरकारले यसलाई नजरअन्दाज गरिरहेको छ । स्वाभाविक सीमाभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारको न्यूनतम दायित्व हो । तर सरकार आफ्नो दायित्व पालनाप्रति उदासीन रहेको सर्वसाधारण जनताले दैनिक रुपमा अनुभूति गरिरहेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदै गएपछि सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । यसप्रति सरकार मुकदर्शक बनिरहनु दुर्भाग्यपूर्ण मान्नुपर्दछ ।
खास गरी बजारमा चिनी, तेल, मरमसला, आलु, प्याज, तरकारी, फलफूललगायतका खाद्यवस्तु अत्यधिक महँगिएको छ । उपभोग्य वस्तुको मूल्य आकासिएपछि न्यून आय भएका किसान तथा दैनिक मजदुरी गर्ने श्रमिकका लागि भान्सा चलाउनै कठिन हुने गरेको छ । कमाइ नबढ्ने तर महँगी भने दिनदिनै बढिरहने समस्याले सीमित आय भएकालाई जीवनयापन गर्न कष्टकर बन्दै गएको तितो यथार्थबाट अनभिज्ञ कोही छैन । चाडपर्वमा मात्र नभएर बर्खामा पनि तरकारीको बजारभाउ उसरी नै महँगिने गरेको छ । बजारमा मल्य वृद्धि हुनु नै महँगी बढ्नु हो । व्यवसायीले आफू खुसी मूल्य तोकेका छन् ।
उपभोक्ताको हकहित संरक्षण गर्नुपर्ने दायित्व भएका सरकारी निकाय र अन्य संस्थाको भूमिका पनि उपयुक्त देखिएको छैन । महँगी बढ्नुको कारण जनताले थाहा पाउनुपर्छ । तर, जनतालाई गुमराहमा राखेर हरेक वस्तुमा मूल्यवृद्धि गरिएको छ । मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ सरकार वा सम्बन्धित निकायले कुनै सक्रियता नदेखाउनु आफैमा दुःख र चिन्ताको विषय हो । जति मूल्य बढाए पनि नियन्त्रण गर्ने कोही छैन भन्ने भ्रम पालेर व्यापारीहरुले मूल्यमा एकाधिकार कायम गरेका छन् । जसले गर्दा आमउपभोक्ताको भान्सा महँगो बन्न पुगेको छ । व्यापारीले जति मूल्य तोक्यो, त्यति नै तिर्नुको विकल्प उपभोक्तासँंग छैन । यसर्थ मूल्यवृद्धि नियन्त्रण गर्ने विषयमा स्थानीय प्रशासन, स्थानीय सरकार लगायतका सम्बन्धित निकायहरू ब्युँझिन र सजग रहन अपरिहार्य छ ।