Shittalpati
भैरवस्थान मन्दिरमा सञ्चालित एकादशी महात्म्य कथासँगै रुद्री र वेद पाठ सकियो

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिरमा सञ्चालित एकादशी महात्म्य कथावाचनसँगै लघु रुद्री र वेद पाठ सकिएको छ । मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कथावाचनसँगै लघु रुद्री र वेद पाठ विधिपूर्वक बुधबार सकिएको हो । 

मन्दिरले हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिनदेखि एकादशी माहत्म्य कथा वाचन गर्दै आएको छ । सो कथा वाचनसँगै लघु रुद्री पाठ र वेद पाठको समापन एकै दिन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द्र बहादुर पोखरेलले बताए । यस अवधिमा भगवान् श्री पुरूषोत्तमको पूजाअर्चना र मन्दिरमा हुने दैनिक पूजाआजासंगै चर्तुमान अवधिभर विषेश पूजाअर्चना गर्ने गरिन्छ । समितिले यस वर्ष १८ जना पण्डितमार्फत लघुरुद्री र वेद पाठ गराएको हो । विगतमा सामान्य रुपमा गर्दै आएको रुद्री पाठ यस पटक भने भव्य रुपमा गरिएकोे छ । मन्दिरमा आउने भक्तजनहरुले समेत रुद्रीको पूजा गरेका छन् । घरघरमा रुद्रीको पूजा गर्दा धेरै खर्च लाग्ने र मन्दिरमा त्यस्तो ठूलो खर्च नहुने नभएकाले भक्तजनहरु समेत सो धार्मिक कार्यमा सहभागी भएका थिए ।  पुजामा सहभागी हुन पुगेका कृष्ण खड्काले पहिलेदेखि नै दर्शनको लागि मन्दिरमा आउने इच्छा थियो तर बुधबार रुद्री पाठ समेत हुन्छ भन्ने थाहा पाएपछि आज आएको बताए । उनले मन्दिरको दर्शन पनि हुने र रुद्रीको पूजा समेत गर्न पाउदा अत्यन्त खुसी लागेको  उल्लेख गरे । पोखरेल नेतृत्वको मन्दिर व्यवस्थापन समितिले मन्दिरमा विगतदेखि हुँदै आएका परम्परागत पुजा पाठलाई थप व्यवस्थित गर्दै आएको छ ।

यहाँ मन्दिरको वास्तु पुजा समेत नभएको अवस्थामा समितिले गत वर्ष साप्तिक र तान्त्रिक विधिद्वारा मन्दिरको वास्तु पूजा समेत गराएको छ । पूनर्निमाणपछि विविध कारणले रोकिएको पूजा गरिएको हो । कुनै पनि घर वा भवन बनाउदा होस् वा त्यसको पुनर्निर्माण गर्दा किन नहोस् वास्तु पूजा गर्ने चलन रहेको छ । घर, भवन विधिवत् वास्तुशास्त्रअनुसार अगाडि बढायो भने त्यसको सकारात्मक प्रभावले जीवनमा आनन्द, सुख, शान्ति, समृद्धि प्राप्ति हुने विश्वास रहेको छ । भैरव मन्दिर आफैमा धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल हो । धार्मिक आस्था बोकेका मानिसहरु मन्दिरमा दर्शन गर्ने र दुःखसुखमा देवीलाई पुकारा गर्छन् । यहाँ दैनिक एक हजार भक्तजनले मन्दिरमा दर्शन गर्दै आएका छन् ।

सेन वंशका राजा मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा पूर्वका काशी र पश्चिममा हरिद्वारसम्म फैलिएको थियो । काठमाडौं खाल्डोमा विसं १५१५ मा आक्रमण गर्दा मच्छिन्द्रनाथको विहारको पटाङ्गिनीमा रहेको भैरवको मूर्ति ल्याएर स्थापना गरेको मानिन्छ । भैरव मन्दिरको माथिल्लो तलामा सर्वसाधारणको दर्शनार्थ कीर्तमुख भैरवको स्थापना गरिएको छ । खास भैरवलाई सर्वसाधारणले हेर्न हुँदैन भन्ने मान्यता छ । सो भैरव मूर्ति भुइँतलामा छ । बगलमा कालीको मूर्ति छ । मन्दिरमा भाक्कल पुजा, क्षमापुजा, पञ्चबली पुजा हुन्छ । यहाँ प्रसादको रुपमा चढाइने रोटको विशेष महत्व हुन्छ । नेपाली एकीकरणका समयमा पाल्पाका सेन राजालाई शक्तिशाली राज्यका रुपमा मानिन्छ । सेन राजाका पालामा भैरव मन्दिर स्थापित भएको हो । स्थानीय बासिन्दाले रोट पकाउने तथा मन्दिरमा चढाउने सामग्रीको कारोबारबाट रोजगारी तथा स्वरोजागर सिर्जना हुँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update