आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । आमा र बच्चामा हुने विभिन्न फाइदाहरुलाई मध्यनजर गर्दौ सन् १९९० मा युनिसेफ, विश्व स्वास्थ्य संगठन तथा वल्र्ड अलाएन्स फर ब्रेस्टफिडिङ एक्सनको सहयतामा इनोसेन्टी धोषणा गरिएको थियो । उक्त घोषणा पश्चात् सन् १९९२ देखि अंग्रेजी महिना अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो । आजदेखि विश्व स्थनपान सप्ताह मनाउन लागिएको छ । स्तनपान सप्ताह एक वार्षिक उत्सव हो । जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बिच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो । बच्चा जन्मेको जति सक्दो छिटो वा एक घण्टाभित्र स्तनपान गराउनु, पूर्ण स्तनपान अर्थात् ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा ६ महिना पूरा भएपछि थप पौष्टिक आहारा सुरु गरी कम्तीमा दुई वर्षसम्म आमाको दूध पनि खुवाइराख्नु स्तनपानको मूल सन्देश हो ।
आमाको दूधले बच्चालाई झाडापखाला, श्वासप्रश्वास र अन्य संक्रमणबाट बचाउँछ । सजिलै पचाउन सक्ने आमाको दूधले शिशुको वृद्धि विकासमा ठूलो मद्दत पु¥याउँछ । पूर्ण स्तनपान गराएको बच्चाको बौद्धिक विकास पनि राम्रो हुन्छ, तर पछिल्लो समय जन्मेदेखि नै आमाको दूधसँगसँगै बजारमा पाइने दूध समेत खुवाएको पाइन्छ । सचेतनाको अभावका कारण धेरै आमाहरुले आफ्नो दूध आएन भनेर बजारबाट लिएको पाउडर वा डेरीबाट ल्याइएको दुध खान दिने गरेको पाइन्छ । यस्तो गलत हो । सजिलोको लागि पाउडर दूध खुवाउने र कतिपय स्वास्थ्यकर्मीले सुरुमै नवजात शिशुलाई पाउडर दूध खुवाइदिने चलन छ । यसो गर्नु राम्रो होइन् । बजारमा आउने पाउडर दूध प्रतिबन्ध नै लगाउनु पर्छ । यसका लागि स्थानीय सरकारले जनचेतनाका कार्यक्रम गर्नुको साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रणका लागि कडाई गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र स्तनपान सप्ताह मनाउनुको सार्थकता रहन्छ ।