Shittalpati
साँच्चै टिक्ला त काँग्रेस–एमाले सहमति  ?

निरन्तर दशकौदेखि चलिरहेको राजनीति अस्थिरताको बिच नागरिकमा उत्पन्न निराशालाई अन्त्य गर्ने उद्देश्यका साथ गत महिना रातारात नेपालका दुई ठूला राजनीतिक दलहरुबिच सत्ता सहकार्य सहितको विविध पक्षमा सहमति भयो । यस कुराले राजनीति अस्थिरता र सरकार परिवर्तनको खेलले वाक्क दिक्क भएका जनतामा केही सकरात्मक सन्देश सिर्जना गर्‍यो । नयाँ सहमतिसँगैको नयाँ सरकारले गति लिदै गर्दा यो सहकार्यप्रति भने विभिन्न आशंका र बहस भएको देखिन्छ । राजनीति बृत्तमा स्थिायी शत्रुको रुपमा परिचित फरक सिद्धान्त बोकेका नेपाली काँग्रेस र एमाले दुई ठूला दलको सहकार्यलाई लिएर आशंका गर्नु पनि स्वभाविक नै देखिन्छ । यी दल यो पटक मात्रै मिलेका भने पक्कै होइनन् । विगतमा मिलनको गर्विलो एतिहास यी दलले बनाई सकेका छन् ।

देशका लागि मिल्नै पर्ने आवश्यक परेको बेलामा यी दुई दल मिल्दा सकरात्मक परिणाम पनि विगतमा प्राप्त भएकै देखिन्छ । राजनीति अस्थिरता र दशकौंदेखि समाधान हुन नसकेका विविध राष्ट्रिय समस्या र मुद्दाहरुको अन्त्य, संघीयताको सफल र व्यवस्थित कार्यन्वयनका लागि फेरि एक पटक मिल्नु जरुरी देखिन्थ्यो त्यो अहिले पुरा भएको छ । दुई दल आफै मिले वा अन्य कुनैले मिलायो त्यो बहसको विषय होइन तर यी दलहरुको मिलनले देश र जनतामा  के कस्तो सकरात्मक सन्देश छोड्दछ त्यो बहसको विषय हो । अन्य राजनीतिक दलहरुले जस्तो विभिन्न वहाना बाजी गरेर उम्कने छुट यी दलहरुलाई भने पक्कै देखिदैन् । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ । नेपालका सरकार निमार्ण र परिवर्तन गर्नमा दुई छिमेकी राष्ट्रहरुको स्वार्थ बाँझिएको हुन्छ । अझै भन्नु पर्दा नेपालको सरकार निमार्ण, सरकारमा सहभागी दलहरुको संयोजन, क–कसलाई मन्त्री बनाउने भन्ने कुरामा छिमेकी राष्ट्रको दौडधुप र भूमिका रहने गरेको विगतमा आरोप प्रत्यारोप लागेको सुनिन्थ्यो । तर यो पटकको सरकार निमार्णमा दुई छिमेकी राष्ट्रहरुको इच्छा विपरीत नेपालकै राजनीतिक दलकै इच्छा र  छलफलमै यो सम्भव भएको हो भन्ने सुनिने गरेको छ । यो पटकको सरकार निमार्णमा छिमेकी दुवै देशको प्रभाव खासै परेको देखिदैन् । यो सरकार निमार्णले केहि स्वार्थ समुहलाई निराशा उत्पन्न गराएता पनि स्थिरतासँगै देश विकासको सपना देखेका आमनागरिकमा भने सकरात्मक सन्देश दिएको देखिन्छ । दुई मुख्य राजनीतिक दलको मिलनलाई विभिन्न आशंकाको रुपमा अन्य राजनीतिक दलले लिएको र उनीहरुमा एकातिर संविधान शंशोधनको त्रास देखिन्छ भने अर्को तर्फ दुई ठूला दलहरुले अन्य साना राजनीतिक दलहरुसँग चुनावी गठबन्धन नगर्ने कुरामा प्रतिवद्ध भए भने साना दलको अस्तित्व के हुने भन्ने कुरामा पनि रहेको देखिन्छ । जे सुकै भएता पनि चुनावको परिमाण लगतै काँग्रेस एमाले सहितको स्थिर सरकारको चाहना र बहस नेपाली जनताले गरेको देखिन्थ्यो । तत्कालीन समयमा यो पुरा हुन सकेन तर करिव १८ महिना अवधि पछि त्यो चाहना भने दुई राजनीतिक दलहरुले पुरा गरेका छन् ।

किन भयो सहकार्यको सहमति ?

दुई ठूलादलको गठबन्धनलाई माओवादी र रास्वपाले भ्रष्टाचारको फाईल खुल्ने डरले भएको भने आरोप लगाएका छन् । केहि हदसम्म त्यो पनि सत्य नहोला भन्न सकिदैन् । किन भने विभिन्न काण्डहरुको चर्चाकाबिच सरकार परिवर्तनलाई यस पक्षसँग जोड्नु विपक्षको धर्मको रुपमा नै लिन सकिन्छ । त्यो भन्दा बढी महत्व स–साना दलको सत्ताका लागि गरिने बार्गेनिङ्  र पदका लागि गरिने लेनदेन, हानथाप र जसको कारण सरकार परिवर्तनको अवस्था रहिरने, राजनीतिक अस्थिरता कायम भैरहने अवस्था रहयो । 

एकातिर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्र, एमाले काँग्रेसलाई खेलाइ रहने र आफु सत्तामा बसिरहने प्रवृत्ती अपाच्य हँदै गएको थियो भने अर्कोतर्फ माओवादीबाट धोका पाएकाहरु एक हुनु पर्ने आवाज पनि बलियो हुँदै गईरहेको थियो । आमजनताको चाहना पनि काँग्रेस एमाले मिल्नु पर्ने र राजनीतिक स्थिरता दिनुपर्ने र दशकौदेखि थनकिएका जल्दा बल्दा समस्याहरुलाई निश्कर्षमा पुर्‍याउनु पर्ने थियो । हुन पनि यी दुई दल दुई तिर रहँदासम्म देशमा अस्थिरता बढ्दै गहिरहयो भने देशले गति लिन नै सकेन भने जल्दा बल्दा समस्या समाधानमा राष्ट्रिय सहमति हुनै सकेन । देश सधै संक्रमणकालिन अवस्थामा हिड्नु पर्ने देखियो भने संघीयता कार्यान्वयनका लागि गर्नै पर्ने काम बनाउनै पर्ने नीति नियम बनाउन नै सकिएन । यस कारण पनि दुई ठूला दल मिल्नु जरुरी देखिन्थ्यो । दुई दलको मिलन राष्ट्रिय सहमतिका लागि भनिएता पनि माओवादी प्रचण्डको दुई ठूला दल माथि राज गर्ने पछिल्लो समय विकास भएको प्रवृत्तीको अन्त्य गर्नु नै मुख्य रहेको देखिन्छ । पछिल्लो समय प्रचण्डका कारण नै छोटो–छोटो समयमा सत्ता गठबन्धनमा परिवर्तन भैरहेको थियो । 

प्रचण्डको इमान र नैतिकता माथि प्रश्न चिन्ह उत्पन्न भएको थियो । विगतमा एमाले माओवादी सहकार्य असफल भैसकेको र सोहि कारण संविधान विपरित दुई पटक संसद विघटनको नमिठो घटना सिर्जना भएको थियो । एमाले माओवादीबिचको विवाद सडकसम्म आइपुगेको थियो सोही कारण एमालेमा माओवादीप्रति प्रतिशोधको इगो रहिरहेको थियो यो एक कारण हुनसक्दछ । माओवादी माधव कुमार नेपाल छोड्न नसक्ने ओली माधव नेपाललाईसँगै देख्न नसक्ने ओली – माधव नेपाल बेमेलक अर्को कारण बन्न पुग्यो दुई ठूला दलको मिलन । पछिल्लो समय एमाले माओवादीबिच एकिरणसहित सत्ता सहकार्यको सहमति भएको थियो भने पाटीएकिरण भएमा एमालेका केहि प्रभावशाली नेतालाई पद छोड्नु पर्ने अवस्था पनि आउन सक्दथ्यो सोहि कारण पनि ओलीका नजिकका मानिने नेताहरु माओवादीसितको सहकार्य तोड्न जाहन्थे जसको कारण पनि दुई दल मिल्ने वातावरण तयार भएको अनुमान लगाउन सकिन्छ ।

सहकार्यको सहमति आवश्यक थियो त ?
ठूला दल मिल्दैमा देश जादुको छाडि जस्तो आमुल परिवर्तन हुन्छ । सबै समस्या समाधान भएर जान्छ त्यसमा अन्य साना दलको भूमिका र महत्व रहँदैन भन्ने पनि हुदैन् । तर ति स–साना राजनीतिक दलहरुको मिलनले अस्थिर र छिन छिनको सत्ता परिवर्तनको बेथितीलाई साथ दिदै गएको भने पक्कै देखिन्छ । साँच्चै काँग्रेस–एमाले सहकार्य देश र जनताका लागि की फेरि एक थान सरकार र प्रधानमन्त्रीका लागि भन्ने कुरा समयले देखाउला तर एक आपसमा मिलेर लामो समय देखि थाती रहेका मुद्दाहरु समाधान गरी देशलाई लयमा फर्काउनु पर्ने दायित्वबाट बिमुख हुन छुट पनि देखिदैन् । सयौं ऐन, नीति नियम निमार्ण प्रक्रिया अलपत्र छ । आर्थिक रुपमा देश सन्तोषजन अवस्थामा देखिदैन् । राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण आन्तरिक तथा बाÞय लगानीकर्ताले विश्वास गुमाउदै गएको देखिन्छ । वित्तीय अनुशासन कायम गर्न सकिएको छैन् । कर्मचारीतन्त्रले काम र जिम्मेवारीप्रति दायित्व र कर्तव्यबोध गर्न सकेको देखिदैन् । खर्च व्यवस्थापन र यसमा मितव्ययीता अपनाउन नसकदा सार्वजनिक ऋण बढ्दै गहिरहेको देखिन्छ । प्रदेश आवश्यक हो की हैन् ? मन्त्री, सासद, समानुपातिक, समावेशिता, विभिन्न निकाय र तहका दरबन्दी व्यवस्थापन, राज्य संरचना माथि सुधार गर्न, शाशन प्रणाली आदिमा छलफल गरी निष्कर्षमा पुग्नु पर्ने जरुरी देखिन्छ । यसका लागि बहुमत, दुई तिहाई मत आदि आवश्यकताकाबिच दुई ठूला दल एकै ठाउँ हुनु आवश्यक थियो । त्यो आवश्यकता भागबण्डा, नियुक्ती र आफु अनुकुल निर्णयमा केन्द्रीत नभै उल्लेखित पक्षको सुधारमा हुनु जरुरी देखिन्छ । यसो हुन सकेका दुई दल बिचको सहकार्यले सार्थकता पाउने देखिन्छ ।

निष्कर्ष :

विभिन्न चुनौतीको चागबिच दुई ठूला दलको मिलनलाई केहि पक्ष र तत्वहरुबाट आशंकाका रुपमा हेरेता पनि आम जनताले भने एक महत्वपूर्ण अवसरका रुपमा लिएका छन् । विद्यमान समस्याहरुको समाधान गर्ने प्रमुख दायित्व पनि यी नै दलहरुमा रहेको देखिन्छ । सत्ता सञ्चालनको मोहमा परेर विभिन्न स्वार्थ समूहको उद्देश्य अनुकुल सहकार्य र सहमति तोड्ने छुट यी दलहरुलाई देखिदैन् । यी दलको मिलन केवल सत्ता सञ्चालनका लागि मात्रै नभएर राज्य सञ्चालनको महत्वपूर्ण कार्य दिशा तय गर्दै विद्यमान देखिएका समस्या समाधानका लागि  हुनुपर्दछ । विभिन्न काल खण्डमा एकै ठाउँ रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका यी दलले फेरि प्राप्त अवसरलाई सहि सदुपयोग गरुन्, जनताबाट भरोसा र विश्वास जित्न सकुन । यो सत्ता सहकार्य पनि ५/६ महिनाका लागि हो भन्नेहरुका लागि गलत भाष्य प्रमाणित गर्न सकुन यहि कामना गरौं ।  (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update