पाल्पा,स्तनपान गराएमा शरीरको बनोट बिग्रिन्छ भन्ने भ्रमले कतिपय आमाले बच्चालाई स्तनपान गराउँदैनन् । विशेषतः पछिल्लो पुस्ताका पहिलो सन्तान जन्माउने आमाहरु शरीर बिग्रने डरले पूर्ण स्तनपान गराउने मामिलामा उदासीन देखिन्छन् । अझ शिक्षित र सहरिया आमाहरूले नै आफ्ना सन्तानलाई पूर्ण स्तनपान नगराएको पाइन्छ । पूर्ण स्तनपान अर्थात् ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा ६ महिना पूरा भएपछि कम्तीमा दुई वर्षसम्म आमाको दूध खुवाइराख्नुपर्ने भए पनि अधिकांस आमाहरु शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रमले पूर्णरुपमा खुवाउन चाहदैनन् ।
तानसेनमा कोठा भाडामा बस्दै आएकी गुल्मीकी इन्दु थापा (नाम परिवर्तन)ले एक वर्ष अघि पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिएन । छोरी जन्मिएको दुई÷तीन महिना त नियमित दूध खुवाईन तर तीन महिनापछि भने उनले शरीर बिग्रने डरले नियमित दूध चुसाउन छोडिन् । थापाले दूध ठेक्का लगाएर छोरीलाई खुवाइन । ‘लामो समयसम्म बच्चालाई दूध चुसाउदा शरिर बिग्रन्छ भन्छन्, त्यसैले मैले त दुई महिनासम्म त म आफै खुवाएँ, पछि भैसीको दूध खुवाएकी हुँ’ उनले भनिन् । थापा त केही प्रतिनिधि पात्रा मात्रै हुन् । उनी जस्तै पछिल्लो पुस्तका आमाहरु शरीर बिग्रने डरले पूर्ण स्तनपान नै गराउदैनन् । शरीरलाई फिट्नेस र सौन्दर्य राख्ने सौखिन महिलाहरुले आफ्ना बच्चाहरुलाई पूर्ण स्तनपान गराउने मामिलामा कमजोर देखिन्छन् । तर चिकित्सकहरु भने बच्चालाई दूध चुसाउँदैमा शरिर नबिग्रने बताउँछन् । बच्चालाई स्तनपान गराउँदा न आमाको शरीर बिग्रिन्छ न स्वास्थ्य, बरु नियमित स्तनपान गराउने आमा सुन्दर र स्वस्थ हुने तानसेनस्थित युनाइटेड मिसन अस्पतालका बालरोग विशेषज्ञ तथा बाल रोग विभाग प्रमुख डा. विकासराज अधिकारीको भनाई छ । ‘कतिलाई स्तनपानले शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम छ । यो भ्रम मात्र हो । स्तनपान गराउने नगराउनेभन्दा बढी सुन्दर हुन्छन्’ डा. अधिकारी भन्छन् । ‘बच्चालाई नियमित स्तनपान गराउनेको स्तन चाँडै नै पहिलैकै जस्तोे सामान्य आकारमा फर्किन्छ, जुन कुरा धेरैलार्ई थाहा छैन,।’ नियमित स्तनपान गराइएका बच्चा पूर्णरुपमा स्वस्थ हुने डा. अधिकारीले बताए । नियमित स्तनपान गराउने आमाहरुमा स्तन क्यान्सर, ओभरी क्यान्सर, हाइ ब्लड प्रेसर जस्ता रोगहरुको जोखिम नहुने समेत उनको भनाई छ ।
कामकाजी आमाहरु समेत पूर्ण दूध चुसाउदैनन्
तानसेनकी मञ्जु कार्की सरकारी जागिरे हुन् । आफ्नो छोरालाई ५ महिना पनि पूरै दूध खुवाइनन् । कार्यालय जानुपर्ने भएकाले उनले छोरा जन्मिएको ४ महिनापछि बहिनीको साथमा छोडेर हिड्नुपर्यो । ‘कार्यालयबाट घर आउने समयको टुंगो नहुँदा छोरालाई पुरा समय आफ्नो दूध खुवाउन पाइन्, लामो समयपछि आफै सुक्दै गयो । चाहेजति दूध खान नपाएपछि छोराले आफै खान छोड्यो । ल्याक्टोजिन, डेरीको दूध, सेरलेक्स खाएरै छोरो हुर्कियो,’ उनले भनिन् । आमाको दूध पर्याप्त खान नपाएकाले होला छोरोलाई सानै बिमारले पनि समाइ हाल्ने कार्कीले बताईन । उनी मात्रै हैन कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउदैनन् । दिउँसो कार्यालयको काममा जाने आमाहरुका लागि बच्चालाई स्तनपान गराउन कठिनाइ हुने गरेको छ । महिला कर्मचारीले दुई महिना सुत्केरी विदा पाउने गरेका छन् तर, बच्चालाई ६ महिनाभन्दा बढी आमाको दूध नियमित चुसाउनुपर्ने डाक्टरहरुको सल्लाह छ । यस्तो अवस्थामा कार्यालयहरुमा ‘डे केयर सेन्टर’ स्थापना गर्न, धाई आमाको व्यवस्था गर्न र बेलाबखत महिला कर्मचारीले त्यहाँ गएर दूध चुसाउँदै कार्यालयको काम गर्न पाउने सुविधा उपलब्ध गराइनुपर्ने आवाज समेत उठ्ने गरेको छ । स्तनपान गराउने उद्देश्यले हरेक वर्ष अगस्ट पहिलो हप्ता स्तनपान सप्ताह मनाउने गरिन्छ । यस वर्ष पनि आजदेखि स्तनपान सप्ताह सुरु हुँदै छ, तर शिक्षित आमाहरु नै स्तनपान गराउने विषयमा त्यत्ति जागरुक छैन् । बच्चा जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने विज्ञहरू बताउँछन् । जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या बढ्दो भएता पनि ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ ।
६ महिना अवधिसम्म सुत्केरी आमामध्ये ५६ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराउँछन् भने ४४ प्रतिशत कृत्रिम दूध वा गाईभैंसीको दूध खुवाउँछन् । त्यस्तै, शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । आमाहरूले कामकाज गर्न घरमा बच्चा छोडेर जानुपर्ने बाध्यता छ । सरकारले हरेक वर्ष जनचेतनामूलक कार्यक्रम आयोजना गर्छ, तर पर्याप्त जानकारी पाएका सचेत आमाहरू नै नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्काको देखासिखी, विभिन्न भ्रामक विज्ञापनको प्रभाव र आफ्नै अहंले गर्दा पनि जानी–जानी शिक्षित मानिएका आमाहरू नै सन्तानको स्वास्थ्यमा ध्यान दिँदैनन् ।