Shittalpati
खोलामा जोखिम मोलेर विरामी अस्पताल पुुर्‍याइँदै

पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलस्थित बराङ्दी खोलामा स्टेचरमा राखेर विरामी तार्दै स्थानीय । बर्खाका कारण सडक बन्द भएपछि स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ सटुकाबाट तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि ल्याइदै गर्दा बिहीबार बराङ्दी खोलामा जोखिम मोलेर स्थानीयले विरामी तारेका छन् ।   

बर्खा लागेसँगै तानसेन, रानीमहल हुँदै स्याङ्जा जोड्ने सडक बन्द भएपछि सवारी साधान नचल्दा यस क्षेत्रका नागरिकले सास्ती खेप्नु परेको छ । यस क्षेत्रमा पक्की पुल भए पनि वैकल्पिक सडक नहुुँदा यहाँका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । रानीमहल दरवार परिसर नजिकैबाटै सडक गए पनि  बर्खाको बेला  कालीगण्डकी नदीको भेल बढेर ठूलो भएपछि सवारी साधन सञ्चालन हुन सक्दैनन् ।

उक्त क्षेत्रमा पक्की पुल भए पनि त्यहाँसम्म जाने वैकल्पिक सडक नहुँदा उक्त सडक प्रयोग गर्ने यात्रुुहरुले समस्या भोग्नु परेको हो । मानिसहरु हिड्नको लागि झोलुङे पुल भए पनि बर्खाले घाँस उम्रिएर हिड्न नमिल्ने र केही समय लाग्ने भएपछि जोखिम मोलेरै भएपनि खोलाबाट बिरामी तार्नु परेको सटुकाका ठाकुर पाण्डेयले बताए । उनले करिब एक किलोमिटर सडक व्यस्थित नहुँदा हरेक वर्ष विरामी लिएर  आउँदा समस्या भोग्नु परेको उल्लेख गरे ।  पाण्डेयले भने‘ हामीले विरामी छिटो अस्पताल पुर्‍याउनुु थियो, बाटो बन्द हुँदा गाडि चलेका छैनन्, तल पुलबाट लैजाऔं भने जताततै घाँस उम्रिएर हिड्न मिल्ने छैन्, जसोतसो भए पनि खोला तरेरै भए पनि लैजाऔं भनेर ल्याएका हौं ।’ उनले सांसद र नेताहरुको वेवास्ताका कारण आफुुहरुले समस्या भोग्नु परेको बताए । पाण्डेयले चुनावका बेला आश्वासन दिने तर चुनाव जितेर गएपछि कसैले पनि चासो नदिने गरेको आरोप लगाए । ४/५ वर्ष अघि यस क्षेत्रमा करोडौं खर्च गरेर पक्की पुल बने पनि वैकल्पिक सडक निर्माणमा ध्यान नदिदा  पुल निर्माणको अर्थ नभएको उनले बताए ।  खोलाबाट विरामी तार्दै गरेको तस्वीर पाण्डेयले सामाजिक सञ्जालमा राखेपछि धेरैले सांसद र नेताहरुको आलोचना गरेका छन् ।

तस्वीर : ठाकुर पाण्डेय/ एनजेडी

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update