Shittalpati
बर्खामा डेंगीको डर !

मुलुकमा यो वर्ष पनि डेंगीको जोखिम बढेको छ । अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि डेंगी संक्रमण बढेको देखिन्छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगीको जोखिमसँगै संक्रमण बढेको हो । वर्षा बाक्लिँदै गएको छ । प्रदूषण पनि धेरै नै बढ्दै छ ।

लामखुट्टे पनि फैलँदै गएको छ । बर्खाको सुरुका दिनहरुमा छिटपुट रूपमा देखापरेका डेंगु बिरामी अहिले भटाभट देखापर्न थालेका छन् । यो डर लाग्दो अवस्था हो । यसबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले पनि सतर्क रहन आग्रह गरेको छ । डेंगुका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै जानु स्थिति खराब हुँदै गएको संकेत हो । क्षेत्रगत हिसाबले देशभरका ७३ जिल्लामा डेंगु संक्रमण देखिएको छ ।

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो । एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेलामा झुलको प्रयोग गर्नाले डेंगुबाट बच्न सकिन्छ । दिनहुँ डेंगु संक्रमितहरु बढ्दै गएपनि सुरक्षा सतर्कतामा भने ध्यान दिएको देखिँदैन । लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा ठूलो उपाय हो । यसका लागि हामीले कार्यस्थलमा रहँदा, घरपरिवारमा रहँदा सबै शरीर ढाक्ने कपडा प्रयोग गर्ने, सुत्दा दिउँसो भएपनि झुलको प्रयोग गर्नुपर्छ । यो लामखुट्टे हामीले थाहा नपाउने गरी हाम्रो घर वरिपरि प्रशस्त रहेको हुन्छ । घरमा राखेको थोरै फूलदानीमा यसले आफ्नो जीवनचक्र पूरा गर्नसक्छ । कुलरमा, एसीमा जमेको पानीमा अथवा फ्रीजमा जमेको पानीमा पनि यो सजिलै रहनसक्छ । यस्तो अवस्थामा हामी बढी सचेत रहनुपर्छ । आफ्नो घर वरिपरी, छतमा पानी ट्यांकी, ड्रम छ भने त्यसलाई बिर्को लगाएर राख्ने वा छोप्ने, ढाक्ने काम गर्न सक्यौँ भने लामखुट्टे नियन्त्रण गर्न सकिन्छ र लामखुट्टे नियन्त्रण भयो भने डेंगीको रोकथाम र नियन्त्रण गर्न सहज हुन्छ । यसर्थ लामखुट्टेको टोकाइबाट बच्ने कुरामा ध्यान दिनु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update