Shittalpati
आज घण्टाकर्ण पर्व मनाइँदै

पाल्पा, प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व आज मनाइँदैछ । घण्टाकर्ण पर्वलाई पाल्पा र काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाउने गर्छन् । गठेंमंगाः पर्व अर्थात् घण्टाकर्ण नेवारहरूको मौलिक पर्व मध्येको एक हो ।

वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो । यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ । घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् ।

आज तानसेनका नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई घण्टाकर्ण पर्व मनाउँदैन् । हरेक वर्ष जस्तै यस वर्ष पनि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाले तानसेनको शितलपाटी चोकमा नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई राख्ने तयारी गरेको प्रतिष्ठानका अध्यक्ष मदन देउरालीले बताए । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उध्याइन्छ । राती राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याइन्छ । अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टा कर्ण राक्षसलाई जलाइन्छ । यसरी परम्परा देखी नै अश्लिल शब्दहरूको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ । परापूर्व कालमा दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिंड्ने मानिससित जगत पैसा उठाई दुख दिने घण्टा कर्ण गठेमङ्गल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ । आजै बाट बस्तीमा लामखुट्टे आउन समेत कम हुने जनविश्वास रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update