Shittalpati
रामपुर नगरपालिकामा ८७ उजुरी दर्ता भएकोमा ५५ को मेलमिलाप

पाल्पा, जिल्लाको रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएकोमा ५५ उजुरीको मेलमिलाप गरिएको छ । नगरपालिकाको न्यायिक समितिले पालिकामा दर्ता हुन आएका उजुरी मध्ये ५५ उजुरी मेलमिलाप गर्न सफल भएको हो ।

जग्गा विवाद, सम्बन्ध विच्छेद, महिला बालबालिका यौन तथा घरेलु हिंसा, पारिवारिक विवाद, व्यक्तिवादी, ज्याला नदिएको, कुलो, बाटो, साँध सिमा, खानेपानी सम्बन्धी विवादका उजुरी न्यायीक समितिमा छलफलका लागि दर्ता भएका थिए । जसमध्ये सबै भन्दा बढी जग्गा विवादका उजुरी दर्ता भएको न्यायक समितिले जनाएको छ । सो आर्थिक वर्षमा २५ वटा जग्गा विवाद, २३ वटा व्यक्तिवादी उजुरी, १२ वटा सम्बन्ध विच्छेद, ११ वटा कूलो बाटो, साँध सिमाना, खानेपानीका उजुरी, ७ वटा पारिवारिक विवाद, ५ वटा यौन तथा घरेलु हिंसाका, ४ वटा ज्याला नदिएका उजुरी दर्ता भएको न्यायिक समितिका संयोजक तथा उपप्रमुख बाल कुमारी थापाले बताईन् । दर्ता भएका उजुरी मध्ये ६० वटाको टुँगो लागेको छ । जसमा ५५ वटा उजुरीको मेलमिलाप, २ वटा उजुरी फिर्ता लिएको, ३ वटा उजुरी जिल्ला अदालतबाट फैसला भई टुंगिएका छन् । १७ वटा उजुरी भने प्रक्रियामै रहेको संयोजक थापाले बताइन् । यस्तै ९ वटा उजुरी छलफल हुन बाँकी रहेको र सम्बन्ध विच्छेद सम्मको अवस्थाको एउटा उजुरी सम्पर्कमा नआएको उनको भनाई छ । समितिमा दर्ता भएका विवादका उजुरीलाई छलफलको माध्यमबाट दुवै पक्षलाई मेलमिलाप गरि पठाईएको संयोजक थापाले बताईन् । ‘नगर स्तरीय न्यायीक समिति र वडामा रहेका मेलमिलापकर्तामार्फ दुवै पक्षलाई मेलमिलाप गराईएको छ’ उनले भनिन्– ‘दवै पक्ष सन्तुष्ट हुने किसिमले धेरै विवादको समाधन गरेका छौँ ।’ छलफलको माध्यमबाट विवाद समाधानका लागि दुवै पक्ष सहमति भए पनि कार्यान्वयनमा समस्या रहेको थापाले बताइन । ‘मेलमिलाप हुन्छ तर केही उजुरीको कार्यान्वयनमा समस्या छ यसको कारवाही प्रक्रिया थाह नहुँदा अन्यौलमा छौँ’–उनले भनिन् ।

न्याय सम्पादनप्रति नगरवासीको विश्यवसनीयताका कारण पनि धेरै विवादहरु न्यायिक समितिमा छलफलका लागि आउने गरेको संयोजक थापाले बताईन् । न्यायिक समितिमा दर्ता भएका उजुरी मध्ये १० वटा उजुरी वडा/वडामा रहेका मेलमिलापकर्ता मार्फत मेलमिलाप गरिएको छ । नगरमा भएका विभिन्न विवादलाई स्थानीयस्तरमै समाधान गर्नका लागि १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । विगतमा १९ जना मेलमिलापकर्ता रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा १८ जना मेलमिलापकर्ता थप गरी ३७ जना मेलमिलापकर्ताले काम गर्दैै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update