Shittalpati
कक्षा १२ को नतिजा सार्वजनिक, ५२‍ प्रतिशत विद्यार्थी उत्तीर्ण

पाल्पा, कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।  

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात् ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात् अनुत्तीर्ण भएका छन् ।

 नतिजामा सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा नन ग्रेडेड भएका छन् । त्यसपछि एकाउन्ट र सामाजिक विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ ।

अंग्रेजीमा ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख २ हजार २ सय ६ जना विद्यार्थी नन ग्रेडेड भए । सामाजिकमा ५१ हजार, एकाउन्टमा ४७ हजार विद्यार्थी नन ग्रेडिङमा परेको बोर्डले जनाएको छ । गत असारमा सार्वजनिक एसईईको नतिजामा धेरै विद्यार्थी गणित, अंग्रेजी र विज्ञान विषयमा अनुत्तीर्ण भएका थिए । कक्षा–१२ मा दुई बिषयसम्म नन ग्रेडिङ नतिजा ल्याउने विद्यार्थीको पुरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन गर्ने बोर्डले जनाएको छ । विद्यार्थीले १ सय ८ विषयमा परीक्षा दिएका थिए ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यस पटक पहिलो पटक काठमाडौँ जिल्लामा परीक्षणका रूपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो । गत असारमा प्रकाशित एसइईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update