Shittalpati
लुम्बिनीका मन्त्रीहरुको जिम्मेवारी तोकियो, कुन मन्त्रीले के पाए ?

बुटवल, लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । विना विभागीय मन्त्रीका रूपमा रहेका आठ मन्त्रीहरुको शपथ लिएको ९ दिनपछि शुक्रबार विभागीय जिम्मेवारी तोकिएको हो ।

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यसहित एमालेबाट पाँच र काँग्रेसबाट चार मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । कांग्रेसभित्रको आन्तरिक विवादले थप एक मन्त्री नियुक्त गर्न बाँकी छ ।

एमालेका मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसँग शुक्रबार बुटवलमा भएको सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजन मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्यूठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएका छन् । काँग्रेसले एक मन्त्री पठाउन बाँकी छ । एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएका हुन् ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्मन्त्रीसहित ५, कांग्रेसले ५ र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले राखेका छन् । मुख्यमन्त्री आचार्यले यसअघि दिनेश पन्थीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update