Shittalpati
सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो डेढ लाख नजिक

पाल्पा, नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार  अघिल्लो दिनको तुलनामा प्रतितोलामा ५ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको छ । मूल्य बढेर डेढ लाख नजिक पुगेको छ । महासंघका अनुसार छापावाल प्रतितोला सुन १ लाख ४९ हजार ९ सय सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ९ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला सुन १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

सुनको भाउले यतिबेला विश्व बजार नै तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो ।

नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update