Shittalpati
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व

पाल्पा, प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।

गठेंमंगाः पर्व नेवारहरूको मौलिक पर्व मध्येको एक हो । वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।

खासगरी रोपाइँ सकिएलगतै आउने घण्टाकर्ण पर्व नेवार समुदायले भूतपिशाच, रोगव्याधी नलागोस् भन्ने परम्परागत कामना गर्दै मनाउँछन् । शुक्रबार तानसेनका नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई घण्टाकर्ण पर्व मनाएका हुन् । यहाँका शितलपाटी, बसपार्क, टक्सारटोल, नारायणस्थान लगायतका स्थानमा हरियो नर्कट र निगालो,छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई राखिएको थियो । हरेक वर्ष जस्तै यस वर्ष पनि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाले तानसेनको शितलपाटी चोकमा,कलाकार किरण चित्रकारको समूहले बसपार्कमा, टक्सार टोलले टक्सार चोक र नारायण युवा क्लवले नारायणस्थान चोकमा राक्षसको प्रतीक बनाई राखेका थिए । सो आकृतिसँगै व्यक्तिलाई राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइएको थियो । साँझपख सो राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवकृतलाई बाजागाजाका साथ ख्याल ठट्टा गर्दै नजिकको होलाङ्गदी खोलामा लगेर जलाइएको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्ययक्ष मदन देउरालीले बताए । खेती किसानीको काम सकिएलगतै विशेष गरी नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ । घण्टाकर्णको दिन फलाम वा पित्तलको औंठी गठांमोमा छुवाएर लगाउने परम्परा छ । महिलाहरू रोपाइँं सकिएको खुसियालीमा यसै दिन हातमा मेहेन्दी (लैंचा) लगाउने प्रचलन रहेको छ । बालबालिकाहरूले दोबाटो र चौबाटोमा दिनभर नर्कटको तीन खुट्टे गठांमो ठड्याई बटुवाहरूसँग ‘घण्टाकर्ण जगात दे’ भन्दै जगात अर्थात् कर मागेका थिए ।

भूतप्रेत आउन नदिन घरको मूलढोकामा किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । यो पर्वलाई तान्त्रिक विधि सिक्ने उत्तम दिनका रुपमा लिने गरिन्छ । परापूर्वकालमा घण्टाकर्ण नामक राक्षसले जनतालाई दुःख दिन थालेपछि एकजना तान्त्रिकले भ्यागुताको सहयोगमा उसलाई मारेको खुसियालीमा यो पर्व मनाउन थालिएको किंम्बदन्ती छ । यो पर्वसँगै पाल्पामा सांस्कृतिक जात्रा र पर्वहरु सुरु भएका छन् ।  

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update