देशभरका स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याइसकेका छन् । नीति तथा कार्यक्रमसँगै स्थानीय सरकारले बजेट ल्याएका छन् । स्थानीय आवश्यकता र जनताको अपेक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारले आ–आफ्नो स्रोत साधान अनुसार बजेट ल्याए् । बजेट ल्याउनु ठूलो कुरा हैन तर त्यसको कार्यान्वयन महत्वपूर्ण हो ।
बजेट भनेको गत आर्थिक वर्षका आर्थिक गतिविधिको अभिलेख, चालू वर्षको चित्रण र आगामी वर्षको कार्यक्रमको अनुमानित प्रक्षेपण हो । यस अर्थमा कुनै पनि सरकारले सामान्यतयाः एक आर्थिक वर्षका लागि आय र व्ययको अनुमानित विवरण तयार गर्ने गर्छन् । यसका लागि तत्कालीन तथा दीर्घकालीन आवश्यकता र उपलब्ध हुन सक्ने स्रोतसाधनको अवस्थालाई ध्यान दिनु पर्ने हुन्छ । स्थानीय सरकारले जुन जुन कुरालाई प्राथमिकतामा राखेर बजेट बनाएका छन् ति विषय अक्षरांश कार्यान्वयन हुनुपर्छ । तब मात्र बजेट ल्याउनुले सार्थकता पाउन्छ । प्रायः सबै पालिकाहरुले बजेट सार्वजनिक गरिसकेको सन्दर्भमा अब त्यसको कार्यान्वयनको पाटो र त्यसको परिणामको अपेक्षा गर्नुपर्छ । वर्षाका बीच सार्वजनिक भएको बजेटले ततत् क्षेत्रको सर्वाङ्गिण विकासमा योगदान दिन सक्यो भने त्यो नेतृत्व सफल भएको ठहरिने छ । बजेट जस्तो सुकै भए पनि त्यसले विकास र जनताको आवश्यकता परिपूर्तिमा कुनै न कुनै ढंगबाट सम्बोधन गरेकै हुन्छ । तर योजना कार्यान्वयन प्रमुख कुरा हो । बजेटमा समेटिने तर कार्यान्वयन नहुने पुरानो रोग अब देखिनु हुँदैन । बजेट ल्याउने तर कार्यान्वयनमा ध्यान दिन नसक्दा हरेक वर्ष घोषणा गरेका कार्यक्रम प्रभावकारी रूपमा लागू हुन सकेको देखिँदैन । स्थानीय सरकारले आफुहरुले ल्याएको बजेटमाथि व्यापक छलफल गरिसकेका छन् । कार्यपालिकाको छलफलबाट ल्याइएको बजेट कार्यान्वयनमा पनि सोही अनुसार लाग्नु अहिलेको आवश्यकता हो । यसर्थ विकास र जनताका अपेक्षा पूरा गर्न अब प्राथमिकताका आधारमा बजेट कार्यान्वयनतर्फ स्थानीय सरकारले तदारुकता देखाउन जरुरी छ ।