वि.सं. १८६१ मा पाल्पा राज्य नेपालमा विलिन हुन गयो । यसअघि पाल्पा राज्यमा करीब चारसय पचाँस वर्षसम्म सेनहरुले शासन गरे । पाल्पा रिब्दीकोटबाट सेन वंशीय शासनको सूत्रपात भयो । रिब्दीकोट रिसायतका प्रथम राजा धर्मपाल सेन थिए भने विशाल पाल्पा राज्यका संस्थापक रुद्रसेन थिए । रुद्रसेनका छोरा मणिमुकुन्द सेन (प्रथम) ले पाल्पालाई एकीकृत विशाल पाल्पा राज्यको रुपमा व्यापीकरण गरे । यही क्रममा केही वर्षसम्म काठमाडौं उपत्यकालाई पनि पाल्पा राज्यको अधिनमा राखे । दिग्विजयको क्रममा चक्रवर्ती महाराज मणिमुकुन्द सेनले थुप्रै कलाकृति एवं मूर्तिहरूका साथ उपत्यका भित्र भएको रातो मच्छेन्द्रनाथको मन्दिरमा रहेको काल भैरवको मूर्तिलाई भ्यालीसहित बाजा बजाउँदै सम्मानका साथ पाल्पा लिएर आए ।
काल भैरवले आफूलाई अनिष्ट गर्छन् कि भने डरले उनले एकसय एकका दरले बोका, राँगो, कुखुरा, हाँस र भेडा गरी पाँच सय पाँच बलि दिइसकेपछि क्षमा पूजा गर्न लाग्दा काल भैरव प्रकट भई “पशुहरूलाई होइन, मलाई तिम्रो बलि चाहिएको छ” भन्दै राजा मणि मुकुन्द सेनतर्फ कुद्ध भई आइलाग्दा दैवसंयोग महाकालीले हावाको रुप धारण गरी भैरवलाई रोकी ढोका बन्द गरी बाहिर निस्कन नदिई मुकुन्द सेनको ज्यान जोगाई दिइन् । नाथ सम्प्रदायका महन्तहरूले आफ्नो साधना मन्त्रद्धारा भैरवलाई शान्त पारी शिलामै प्रवेश गराए । क्षमा पूजा आराधनासहित राजा मुकुन्दसेनले पाल्पाको आराध्य देवको रुपमा भैरवनाथको मूर्ति प्रतिष्ठापित गरी भव्य र दिव्य मन्दिर बनाए । जुन मन्दिरलाई आज हामी पाल्पाको भैरवस्थान मन्दिर भन्दछौं । त्यतिबेलादेखि नाथ समुदायका महन्त (पूजारी) हरूले भैरवको नित्य पूजा गर्दै आएका छन् ।
राजा मणिमुकुन्द सेनको दरबार पाल्पाको भैरवस्थानको मन्दिरको पश्चिमपट्टि र हार्थोक बजारको पूर्वपट्टि रहेको पूरनकोट (पूर्णकोट) डाँडामा थियो । आफ्नो दरवारको नजिकैको सुन्दर डाँडामा उनले भैरवको मूर्तिलाई मन्दिर बनाई प्रतिष्ठापित गरेका थिए । तत्कालीन समयमा जयमुनि नामका सन्यासी भैरवनाथका पूजारी थिए । उनी राजा मुकुन्द सेनको साथ लागेर सधै राती नै उठेर रीडी, काली गण्डकीमा नुहाउन गई त्यहाँबाट गंगाजल ल्याएर भैरवको नित्य पूजा गर्दथे । कालकममा एकदिन काली गङ्गा प्रशन्न भई “अब देखि जल लिन नित्य यहाँ आउनु पर्दैन, मन्दिरमुनिको धारामा यहाँको जल पुग्नेछ” भनेकाले उक्तधारालाई ‘जयधारा’ भनी आज सम्म पनि जयधाराबाट जल ल्याएर नित्य पूजा गर्ने चलन छ ।
पुरानो भैरवस्थान मन्दिर
भैरवको शाब्दिक अर्थ भयानक, डरलाग्दो, भयङ्कर भन्ने हुन्छ । भैरवलाई शिवजीको गणहरू मध्ये एक मानिन्छ । भैरवनाथको मन्दिर काठमाडौं हनुमान ढोकास्थित देगुतले मन्दिरको वास्तुशैली एवं नेपाली तलेशैलीमा निर्माण भएको छ । मुख्य कालभैरवको मूर्ति भूइँतलाको गोप्य कोठामा राखिएको छ । यसलाई पूजारी बाहेक अन्य भक्तालुहरूले दर्शन गर्न पाउँदैनन् । गोपनियता र रहस्यमय विशेषताले यसको धार्मिक आस्था र महत्व अझ बढ्न गएको छ । दोश्रो तलामा भक्तालुहरुको दर्शनका लागि कीर्तिमुख भैरवको मूर्ति राखिएको छ । तेश्रो तलामा सुनको मोलम्बा जडित धातुद्धारा निर्मित छानामाथि कलात्मक सुन्दर सुवर्णकलश र छत्रसहितको गजूर रहेको छ । मन्दिरको भूइँतलामा ‘माई’ अर्थात् ‘आमा’ को मूर्ति रहेको छ ।
पाल्पाको सदरमुकाम तानसेनबाट दुईकोष अर्थात् करीब नौ किलोमिटर पश्चिममा रिब्दीकोट गाउँपालिका अन्तर्गत पर्ने चारैतिरबाट शिखरिदै गएको सुन्दर डाँडाको टाकुराको समथल भागमा भैरवको विशाल दिव्य मन्दिर अवस्थित छ । सेनकालीनल मल्लकालीन, राणकालीन एवं आधुनिककालीन कलाहरूको समिश्रण भई चारैतिर घेरिएको कलात्मक प्रासाद अधावधि रहेका छन् । अखण्ड धुनी, खुला चोक, विशाल पित्तलको त्रिशुल देवीदेवता सानाठूला मूर्तिहरू घण्टहरू, त्रिशुलहरू, बली दिने स्थान, परेवाको बासस्थान आदिले मन्दिर सुसज्जित रहेको छ । भैरव मन्दिरमा कानफट्ट सन्यासीहरूद्वारा गरिने पूजा विधि विचित्रको रहेको छ । भाकल भैरवलाई गरिन्छ र पनि पूजा गर्दा भैरव र माईलाई अलग अलग रोट चढाइन्छ । चामल वा गहुँको पिठोबाट बनाइने रोट एकमानाको वा एकपाथीको हुने गर्दछ । रोट शुद्ध गाई भैंसीको घिउ, दूध, नरिवल, छाडा, ल्वाद्र, सुकमेल, अलैंची, मरिच, दालचिनी, मसला मिसाएर पकाएर बनाइन्छ । प्रसादको रुपमा खाइने यो रोट अपूर्व अमृतमय स्वादिलो हुन्छ । भाकल अनुसार बली र पञ्चवली दिने चलन छ । पञ्चवली दिदा नौमति बाजा बजाइन्छ ।
नयाँ भैरवस्थान मन्दिर
पूजा र वलीको लागि कुनै पनि तिथि मितिको छेकवार छैन् । विषेश गरी वैशाख, मंसिर, माघ, र शारदीय नवरात्रमा टाढा टाढाबाट भक्तालुहरू आउँछन् । नेपालको मेचीदेखि महाकलीसम्मका भक्तजनहरू र मित्रराष्ट्र भारतका हिन्दूमार्गीहरू समेत भैरवनाथको दर्शन गर्न आउँछन् । सबैले गौरवका साथ रातो, पहेलो, सेतो धजा लगाउँछन् । भाकल गरेको कुरा यहाँ पूजा गरेपछि सबै पुग्दछ भन्ने जनविश्वास रहेको छ । वर्तमान समयमा भैरवस्थानको भन्दिर क्षेत्रमा निकै चहल पहल बढ्दो छ । मन्दिर अगाडिको छतमाथिबाट चारैतिरको रमणीय दृश्य देखिन्छ । अझ उत्तरतर्फ हेर्दा धवलागिरी, गणेश, अन्नपूर्ण, गौरीशङ्कर लगायतका सुन्दर हिमदृश्य श्रृङखलाहरू देख्न सकिन्छ । ऐतिहासिक, साँस्कृतिक एवं धार्मिक पर्यटकीय गन्तव्य भएकाले यस ठाउँमा पुग्नु भूस्वर्गमै रमाउनु हो । जय भैरव !
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष र पाल्पाको इतिहासको पक्षमा कलम चलाउने स्रष्टा समेत हुन् ।)