शालिकराम पाण्डे “शिला”
नयाँदिल्ली पुग्दा भोलिपल्ट बिहानको तीन बजेको थियो । रेलको यात्राले लखतरान पारेको ज्यान कतिखेर ओछ्यानमा बिसाऊँ जस्तो भएको थियो । झिटीगुण्टा बोकेर आँखा मिच्दै हामी रेल्वे स्टेसनबाट बाहिर आयौं । साथीहरुले गन्तव्य पुग्न गाडीको मोलमोलाई गरे । म भने दिल्लीलाई अनुभूत गर्न आतुर थिएं । आठ जना यात्रुलाई दुई वटा कारले बोकेर बाटो लागेपछि भने दिल्लीको औंलो देखिएझै भयो ।
हातखुट्टा र पुरै ज्यान हेर्न त आठ दिनको लामो बसाईले पनि भ्याउला, नभ्याउला ? सडकका दुवै किनारामा सडक बत्तीको चहक देख्दा नेपालको लोडसेडिङको सम्झना आयो । यहाँको सडक र बस्तीभरी छरिएको उज्यालोलाई लोभी नजरले हेर्दै हामी अघि बढ्यौं । सडकका बीचभाग र त्यसका दुबै किनारामा रहेका बगैंचाहरुले मन तान्दै गर्दा कारका चालकहरुले गाडी रोके र हाम्रै अगाडि बगैंचातिर फर्केर मुत्र विसर्जन पो गरे । हाम्रा महिला साथीहरुलाई अप्ठ्यारो भयो होला । सुन्दर चित्रमा एक थोपो मसी खसे जस्तै लाग्यो । दिल्लीमा पनि बैभव र विकृति दुवैसँगै बाँच्दा रहेछन् । नयाँदिल्लीको सफ्दरगञ्जस्थित गोर्खाल्याण्ड भवन हाम्रो गन्तव्य रहेछ । एउटा हल । झोला बिसाएर सबैले एकएक वटा बेड समात्यौं र गुटुमुटु भयौं । हामी पुरुष साथीहरुलाई त केही भएन । महिला साथीहरुलाई आठ दिनसम्म एउटै कोठामा रहंँदा केही अप्ठ्यारो भयो होला । तर त्यसको अनुभूति महिला साथीहरुले ब्यवहार र बोलीमा कतै देखाउनु भएन । हामी पुरुष साथीहरुले पनि त्यसको बढी ख्याल गर्यौं । जब मान्छेहरुले अभाव र अप्ठ्यारोहरुमा बाँच्न सिक्छ, त्यसले मानिसलाई नजिक बनाउँंछ र बांच्ने कला पनि सिकाउँंछ । महँगो दिल्लीमा फरक–फरक कोठा लिन परेको भए हाम्रो बजेटले नपुग्ने रहेछ । बिहान अबेलासम्म सुतेर रातभरको थकाई मारियो । भारतको प्रारम्भिक बालविकासको बारेमा बुझन् गएको बेस नेपालको टोलीलाई त्यो दिन खाली थियो ।
अर्थात् कुनै कार्यतालिकाको यन्त्रवत् बन्धनभित्र हामी थिएनौं । दिल्लीका महत्वपूर्ण स्थलहरु अवलोकन गर्ने कार्यक्रम तय भयो । हाम्रो घुमफिर कुतुवमिनारबाट सुरु भयो । महात्मा गान्धीको समाधिस्थल राजघाट गयौं र गान्धिलाई श्रद्धाको फूल चढायौं । अक्षरधाम पुग्यौं र हिन्दूहरुको भव्य मन्दिरको दर्शन गर्यौं । लालकिल्ला घुम्यौं र इतिहास पढ्यौं । लोटस् टेम्पल पुग्यौं र शान्तिको कामना गर्यौं । इन्डिया गेट भने अर्काे दिनको भागमा पर्यो । साना ठूला मन्दिर, स्मारक तथा ऐतिहासिकस्थलहरु हाम्रा अवलोकनका निसानामा परे । तर सबै मानव निर्मित इतिहास, मानवसभ्यताको धरोहर, धर्म र कलासँग जोडिएका सबै सम्पदाहरु गौरव गर्न लायक, मानवीय सभ्यताको अनुपम नमूना, हरेक पर्खाल, ढोका, झ्याल र ढिस्काहरुले जीवन्त इतिहास बोकिरहेका, हजारौं मान्छेहरुको अजश्र पसिनाको सिर्जना,सर्वाेत्तम कला र अद्भूत आश्चर्य । विशाल सडकहरु, जमिनमा सडक, आकासमा सडक, भूमिगत रेल (मेट्रो) । नेपालको रत्नपार्कमा बनेको ओभरब्रिज र भोटाहिंटीको सव वे देख्दा दंग परेका आँखा यहाँको रेल मार्ग, रोडमाथि बनाएको लामो न लामो अर्काे आकासे रोड देख्दा अचम्म त लाग्ने नै भयो । भीमकाय घरहरु अर्काे आश्चर्यका विषय बन्दा रहेछन् ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा आश्चर्यले जिब्रो लामो न लामो भएर बाहिर निस्कियो । कति सफा ! कति सुन्दर ! कति बिशाल ! ब्रिफकेस बोकेर दौडेका मान्छेहरुको भींड देख्दा मानवीय जीवन जटिल पनि लाग्यो । के–के देख्न पर्ने ? के के भोग्न पर्ने ? के–के जान्न पर्ने ? के के गर्न पर्ने ? मिनेट मिनेटको महत्व यहाँ पो हुंँदोरहेछ । साथीहरु फोटो खिचाउन तछांडमछाड गर्दै गर्दा म नजिकको फलामेबारमा अडेस लागें । मान्छेहरुको भींड हेर्दै सोचें, सबै मान्छेहरु कहाँ पुग्न दौडेका हुन् ? सबै हतारमा दौडिरहेका छन् । कहाँ के छ र यति विधि हतारो हं ? खोल्साले खोला, खोलाले नदी र नदीले समुन्द्र भेट्न दौडिएझैं ।
जीवनको स्वाद व्यस्ततामा मीठो कि फुर्सदमा ? यतिबेला हिउँदमा दिनभर खोलामा माछा खोजेर साँझ चिसो कट्टु निचोर्दै एकदुई वटा माछा तुर्ल· झुण्डाएर उकालो लाग्ने हाम्रा गाउँले दाजूभाईलाई सम्झें । आखिर त्यहाँ पनि जीवनको आनन्द छ । उनीहरु पनि खुसी र सुखी नै छन् । मलाई लियो टोल्सटोयको ‘एक हात जमीन’ भन्ने कथा सम्झनामा आयो । ‘किसानलाई उसले दोडेर घेरा बनाउन सके बराबरको जमिन दिइने भएपछि लोभी किसान बिहान सूर्य उदाएदेखि अस्ताउंदासम्म दौड्यो । बिहान सुरु गरेको ठाउँमा आउनै लाग्दा ऊ सदाको लागि ढल्यो । आखिर उसलाई एक हात जमिनमा गाडियो ।’ कथाको सार यही थियो । तर लोभै नगरे पनि शहरमा यति ब्यस्त नभए जीउन नै गाह्रो छ । शहर जटिल छ । शहरमा मान्छे यान्त्रिक हुन्छन् । यहाँ मान्छेलाई यन्त्रले चलाउँछ । त्यसैले दौड्न विवश छन् । दिल्ली मुगल बादशाहहरुले बसालेको शहर, इतिहासदेखि वर्तमानसम्म शासनसत्ताको केन्द्रबिन्दु, हरित शहर । छड र सिमेन्टले बनेको भीमकाय महानगर । दिल्लीमा प्राकृतिक दृष्यावलोकन गर्ने ठाउँ भने कतै छैन् । विशाल घर र सडकले छेलिएर बगेकी यमुना पनि हेर्न लायक देखिईनन् । मलाई दिल्लीमा घरिघरि हाम्रा राष्ट्रकवि माधव घिमिरेको ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो, हिमालचुली मुन्तिर पानी भर्ने पंधेरो ।’ भन्ने गीति कविता याद आयो । हिमाल, पहाड र तराईको मनोरम् देश नेपाल पनि कोहीभन्दा कम छैन् भन्ने राष्ट्रभावले मलाई पुलकित बनायो । दिल्ली बसाईको अन्ततिर हामी ताजमहल हेर्न आगरा हांकियौं । टुरिष्टबसमा टुरिस्ट बनेर दिल्लीबाट आगरा दौंड्दै थियौं ।
भव्य सडकमा बग्दै र दायाँबायाँका निर्माणाधीन विशाल भवनहरुलाई छिचोल्दै हामी ताजमहल नजिक भईरहेका थियौं । बसका स्टाफहरु भने टुरिस्टंसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा शुन्य ज्ञान राख्ने खालका थिए । तीन घण्टासम्म गाडी अनवरत कुंदिरहँदा मलाई पिसाव फेर्ने मौका पनि दिएनन् । हाम्रो अनुनय विनय उनीहरुका लागि बालक्रन्दन सावित भयो । पिसावथैली फुट्ला जस्तो भएपछि झगडै गर्न पर्यो । बल्लतल्ल गाडी रोकिएपछि महासंकट पार लाग्यो । आगरा किल्ला हाम्रो पहिलो निसाना भयो । टुरिष्ट भई टोपलेको कारण हाम्रा लागि एक जना गाइड अघि लाग्यो । त्यो गाइड हाम्रो बिचमा निकै चर्चाको विषय पनि बन्यो । कालो, बडे ज्यानको कडा स्वर निकाल्ने त्यो कमाण्डर जस्तै थियो । पूर्ण पेशेवर । एक इन्ची तल माथि नहुने । जता पनि कमिसन खान सिपालु । टिकटदेखि पसलसम्म जताततै कमिसनको खेल । तर त्यो गाइडमा अचम्मको नेतृत्वदायी क्षमता थियो । उसले भनेपछि लुरुक्क र खुरुक्क हुनुपर्ने । आगरा दरबारको बारेमा उसले मनमोहक व्याख्या गर्यो । अकबर र वीरवलको किस्सा संसारमा नसुन्ने र नपढ्ने को होला र ! यी किस्साहरुमा एक मुस्लिम बादशाह भएर पनि सबै धर्म र जातजातिप्रति उत्तिकै सद्भाव राख्ने को हुन सक्छ ? उनका मुख्य मन्त्री वीरवल हिन्दू थिए र उनको सबैभन्दा प्रिय । आगरा दरबारको वैभव देखिन सक्नु र सुनिनसक्नु लाग्यो ।
बाबर, हुमायुँ, अकबर, जहाँगीर र औरंगजेवहरुले पूर्णता दिंदै गएको त्यो दरवार कलैकलाको संग्राहालय जस्तो लाग्यो । आगराकिल्ला, अगरसिंह गेट, हौज, अंगुरीवाग, खासमहल, दीवान–ए–खास, शीशमहल, सूम्मन बुर्ज, नगीना मस्जिद, दीवान–ए–आम, मीना मस्जिद, मीनाबजारका सुन्दर संरचना र त्यससँग जोडिएका रोमाञ्चक कथाहरु कम्ति लोमहर्षक रहेन छन् । त्यो जमानामा अहिलेको वाथटप जस्तै बिसाल ढुंगालाई कुंदेर बनाएको ओखल । अत्तरयुक्त सुगन्धित र त्यो पनि जाडोयाममा तातोपानी र र गर्मीयाममा चिसोपानी राखेर त्यसमा राजारानी डुबुल्की मार्थे रे ! बिसाल किल्लाभित्रको त्यो दरवार मानवसिर्जनाको अनुपम उपहार भएर उभिएको उभियै छ हाम्रो अगाडि । त्यसपछि हाम्रो अर्काे निसाना ताजमहल थियो । यमुना नदीको किनारमा रहेको ताजमहलको बारेमा मैले भन्नु पर्ने केही रहेन । उही सबैले सुनेको र पढेको शारजहाँ र मुमताजको कथा । आफ्नो मन परेकी ३९ बसन्तमा टेक्दै गरेकी रानी लाऊँ लाऊं र खाऊं खाऊं उमेरमै स्वर्गवास हुँदा कसको मन नरोला र ! वियोग कसैको लागि आंशु मात्र हुन्छ भने कसैको लागि सिर्जनाको स्रोत बन्दोरहेछ । माधव घिमिरेकै ‘गौरी’ श्रीमतीको वियोगमा लेखिएको नेपालकै उत्कृष्ट शोककाव्य बन्न पुग्यो । सायद शोकलाई शक्तिमा बदल्ने भनेको यही होला । शार जहाँले त्यही वियोगबाट उत्कृष्ट सिर्जना (ताजमहल) संसारलाई दिएर गए, जो आज प्रेम र मानवीय सद्भावको प्रतिक बनेर संसारलाई मानवतातिर डोर्याईरहेको छ । विश्व सम्पदाको रुपमा रहेको प्रेमको प्रतिक यो महलमा विभिन्न देशबाट आएका मान्छेहरु भेटिए । स्थान, परिवेश, इतिहास, वास्तुकला र विश्वासको संगमस्थल ताजमहलमा जतिबेर बसियो मैले आंफूलाई अर्कै महसुस गरें । यस्तो लाग्यो कि संसारमा कोही शत्रु छैन । चराचर जगत सबै प्रेमी । सबै निर्जिव वस्तुहरुमा प्राण छ जस्तो । ताजमहल त हामी दर्शनार्थीहरुसँग बोलीरहेझैं लाग्यो । संसारका फरक–फरक भाषीहरुको बीचमा पनि सबैले बुझिरहने अनौठो भाषामा ताजमहलले हामीलाई इतिहास, साहित्य, कला, वास्तुकला, र मानवताको पाठ पढाईरहेको थियो । त्यसबेला मैले आंफूलाई ताजमहलको शिरजत्तिकै उच्च महसुस गरें । ताजमहल एउटा किताव जस्तै लाग्यो । परबाट पनि पढ्न सकिने । तर हतारोले गर्दा ताजमहल किनेर पनि पाना मात्रै फर्काएर झोलामा राखेको किताव जस्तो मनभरी बोक्दै त्यहाँबाट फक्र्याैंं । फर्कने बेलामा हाम्रो गाइडले कमिसनको डकारसँगै हामी मथुराको दर्शनपछि मात्र दिल्ली फर्कने तालिका सार्वजनिक गर्यो । त्यसबेला साँझको सात बजे पनि मेरो मन फेरि द्वापरयुगमा फक्र्याे । मैले सुनेका र पढेका मथुरावासी कृष्ण काले घनिभूत हुन थाले । शार्दूलविक्रडित छन्दका कविता (शिलोक) मा अर्थ लगाई लगाई मेरा बाले भाका हालेर गाएका कृष्ण चरित्र फेरि रील घुमेझैं मेरा दिमागमा घुमे । बाल्यकालमा मलाई मेरा बाले सुनाएका ती शिलोकले बालकृष्णमा मैले आंफैलाई आरोपित गरेर आनन्द लिन्थें । मलाई लाग्थ्यो कृष्ण भगवान भनेका कृष्ण काले पनि म जस्तै बालविज्याईं गर्ने मान्छे रहेछन् । दही, नौनी चोर्ने, बिस्कुन (घाममा सुकाएको अन्न) मा गाईका बाच्छा छोडिदिने, भांडाहरुमा मुत्ने, बालसखाहरुको नेता । आमालाई सताउने, बांसुरी बजाउने, राधालाई फंसाउने । तिनै कृष्ण कालेको घरमा आईपुग्दा कुन हिन्दूको मन खुस नहोला ! राज्यपिच्छे नेता र नीति फरक हुन्छ भनेझैं हाम्रो गाडीमा मथुराको दर्शनपछि फेरि अर्काे गाइड पदार्पण भयो । उसले त्यो छोंटो दुरीमा कृष्णका बालापनका कथाहरु राम्रैसँग पढायो । गाडीभरीका सबै यात्रुहरु चुपचाप भएर उसको एकोहोरो प्रवचनमा लिन भए । यसो केही बोल्न नहुने । ख्याकखुक समेत गर्न नपाइने । मूर्दा शान्ति जन्माएर उसले हामीलाई आफ्नो बसमा पार्दै गयो । ऊ त गाइड नभएर पण्डा पो रहेछ । पछि मन्दिरमा गएर ठगठागको शिलशिला सुरु भएपछि त्यो भेद खुल्यो । कृष्ण भगवानको पवित्रस्थलमा जुन भावनाले उनका भक्तजनहरु आउँछन्, ठगहरुको चंगुलमा पर्नेहरुको भावनामा नराम्रोसँग चोट पुग्छ । आफ्नै मामा भए पनि जनताका पीडक भएको कारण कंशलाई मार्ने कृष्ण भगवान, महाभारत युद्धमा सत्यको पक्षमा लाग्ने कृष्ण भगवान जनताका पक्षधर नेता थिए । कृष्ण मान्छे जस्ता भगवान् होइनन् ।
असल मान्छे भएका कारण भगवान् भएका हुन् । तर तिनै भगवान्का जन्मस्थलमा बसेर र तिनकै आदर्श कथाहरु बेचेर पण्डाहरुले मथुरामा युगौंदेखि स्थापना गरेको ठगीको आतंकलाई स्थानीय सरकार, पुलिस प्रशासनले समर्थन गरेर बसेको देख्दा उदेक लाग्यो । तर कृष्ण काले जन्मे, हुर्केको, रनवन गरेको, सोह्रसय गोलेनी(गोपिनी)सँग रासलिला रचेको त्यो जीवन्त क्रिडास्थल, ऐतिहासिक र धार्मिकक्षेत्रको हरेक पाटोलाई छुने र केलाउने मन भए पनि समयको पावन्दीका कारण हामी दिल्ली फर्कने तयारीमा लाग्यौं । बाटोभरी आंफुहरु ठगिएको आत्मग्लानी, त्यसलाई ढाकछोप गर्ने दुस्पर्यत्न, त्यसै घटनालाई गफको रमाइलो विषय बनाउने उपक्रमबीच हामी मध्यरातको समयमा दिल्लीको नजिक भईरहेका थियौं । पर्यटक बनेर पर्यटकीय क्षेत्रबाट फर्कंदै गरेका हामी आठ नेपालीलाई भारतको राजधानी दिल्लीमा चल्ने पर्यटक बसले मध्यरातमा बीच बाटोमा अर्काे गाडीमा पठाएपछि फेरि अर्काे रडाको चल्यो । तर हाम्रा साथीहरुले त्यसलाई राम्रैसँग मुकाबिला गरे । आंफू भने नेपाल लेखेको पुन्टे झोला बोकेर यता र उता गरिरहें । धेरैबेरको तं तं र म म भएपछि गाडीका स्टाफहरु हामी बिहान चढेको सफ्दरगञ्जमै हामीलाई पुर्याउन बाद्य भए । त्यसको लागि हाम्रा साथीहरुलाई धेरै कसरत गर्न पर्यो । हामी बिहान तीन बजे गोर्खाल्याण्ड पुग्दा घरमै पुगे जस्तो भयो । घटना सुनाउंदा गोर्खाल्याण्डका गोर्खालीहरु पनि उनीहरुसँग रिसाए । आखिर भूगोलको साइनो, रगतको साइनो कम्तिको हुन्छ र ? जीवन भनेकै राम्रो नराम्रो, मीठो नमीठो अनुभवहरुको संगालो हो रहेछ ! विहानपख सुत्दै गर्दा मलाई यस्तै अनुभव भईरह्यो । रचना : २५ जेठ २०७३