नेपालका युवाहरू विदेश विदेशिने क्रम झनै बढ्दो छ । पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया ताक्छन् । ग्रामीण युवा रोजगारीका लागि अरबका खाडी मुलुक र मलेसिया, दक्षिण कोरिया पुग्छन् । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ ।
देशमा राजनीतिक स्थिरता कायम भई उद्योगधन्दा सञ्चालनमा आई आर्थिक विकासले गति लिन सकेको खण्डमा युवाहरु विदेश पलायन हुने थिएनन् तर त्यो हुन सकेको छैन । अहिलेको अवस्थामा युवा विदेशिनु देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो ।
उच्च शिक्षा हासिल गर्ने नाममा नेपालका उर्जाशिल युवा जनशक्ति विदेशिने क्रम तीव्ररुपमा अघि बढेको छ । नेपालमा नै बसेर उच्च शिक्षा हासिल गर्ने जनशक्ति दिन–प्रतिदिन घट्दो अवस्थामा रहेको पाइन्छ । यहाँ सम्म कि कुनै पनि महिला वा पुरुष स्वदेशभन्दा विदेश नै जान रुचाउँदैछन् । बच्चैदेखि बिदेसिने सपना साँच्ने जमात ठूलो छ । सपना नै विदेश भएको छ आजको नयाँ पुस्ताको । पढेर यो बन्ने, ऊ बन्नेभन्दा पनि बिदेसिने सपना नै धेरैको हुन थालेको छ । अहिले धेरै अध्ययनको लागि भन्दै विदेशिने गरे पनि उद्देश्य त्यहाँ गएर काम गर्नु नै हो । मुलुकमा रोजगारीको विकराल अवस्थाकै कारण जो कोही अध्ययनकै बहानामा पनि बिदेसिइरहेका छन् । अध्ययनका लागि बिदेसिनेमध्ये थोरैले मात्रै साँच्चिकै अध्ययन गर्छन्, मूल उद्देश्य त पैसा कमाउने नै हुन्छ । जहाँ गएर पनि पैसा कमाउनु, इलमी बन्नु सही नै हो । यसलाई अन्यथा लिनु हुँदैन । तर नेपालीले आर्जेको पैसा वा ज्ञान नेपालमै कसरी भित्र्याउने भन्ने चुनौती हो । त्यसतर्फ सरकारले नीति र वातावरण बनाउनुपर्छ । उद्यमशीलताको वातावरण र सुशासन कायम रह्यो भने मात्र युवाहरु स्वदेश फर्कन सक्छन् ।
युवाहरूको विदेश आकर्षण पूरै रोक्न सम्भव नहोला, तर बेरोगारीका लागि विदेसिने युवालाई स्वदेशमै कृषि व्यवसायलाई बढी उद्यमशील बनाउने दिशामा सरकारले ध्यान दिए केही हदसम्म भए पनि रोक्न सकिन्छ । साँच्चिकै मुलुक बनाउने हो भने उर्जावान युवाहरुलाई स्वदेशै राख्न सक्नुपर्छ । स्वदेशमै उद्योगधन्दा कलकारखाना सञ्चालन गरी युवाशक्तिलाई यही राखेर काम लगाउन सकेमा आफ्नै ठाउँमा रोजगारीका अवसर सिर्जना हुनुको साथै युवाहरुलाई विदेश जानबाट रोक्न सकिन्छ । यसर्थ यसतर्फ सरकार र राजनीतिक दलहरुले ध्यान दिन जरुरी छ ।