किरण चित्रकार
नेपालका मौलिक नाचहरुमध्ये लाखे नाच लोकप्रिय नाच हो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच केही वर्षअघि विभिन्न अवसरहरुमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ । लाखे नाच्न जान्ने र युवा पुस्ताले यसको महत्व नदिँदा हराउँदै गएको हो ।
रीतिअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन पर्ने गठेम·लदेखि नै लाखे नचाउने चलन छ । गठेमङ्गलमा सुरु भएको लाखे नाचलाई तीजमा अन्त गर्ने प्रचलन विगतमा थियो । यद्यपी त्यो प्रचलन अझै पनि कतै कतै कायम रहेको पाइन्छ । पाल्पासहित देशभर नेवार समुदाय भएका ठाउँहरुमा यति बेला बजारको चोक–चोक र गल्लीगल्लीमाङ्गकेही मान्छे बाजा बजाउँछन्, केही झ्याली पिट्छन् त केही मुखुण्डोसँगै रङ्गीविरङ्गी कपडा लगाएर नाँचेका दृश्यहरु देख्न पाइन्छ । नाच्ने मान्छेको अनुहार मुखुण्डोले छोपिएको हुँदा चिन्न सकिँदैन । साउने चतुर्दशीदेखि सुरु भएको उक्त नाच तीजको दिनसम्म नाचिन्छ । यसलाई नेवार समुदायले ‘लाखे नाच’ भन्छन् । रहेक वर्ष यसै समयमा नाचिने लाखे नाच खासमा आकर्षक र अनौठा दृश्य देख्न पाइन्छ । पहिले–पहिले लाखे नाच्ने र बाजा बनाउनेको संख्या पनि ठूलो हुन्थ्यो । तर पछिल्लो समय निकै कम भएको छ ।
नाच्ने तथा बजाउने कलाकार बजारमा टिकाउन नसक्दा लाखे नाच संरक्षणमा निकै चुनौती देखिएको छ । पाल्पाको तानसेन पनि नेवार सुमदायको वस्ती रहेको शहर हो । यहाँ विगतदेखि जसो तसो लाखो नाचलाई निरन्तरता दिर्दै आइएको छ । संस्कृति सम्वद्र्धनमा पुराना पुस्ता खटेर लाग्न नसक्ने र नयाँ पुस्ताले बेवास्ता गर्दा पछिल्लो समय भने लाखे नाच हराउँदै गएको छ । युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाँच पछिल्ला वर्षमा हराउँदै जान थाले पनि पाल्पाका केही युवाहरु जनतन त्यसलाई जोगाउन प्रयास गरिरेहका छन् । तर अब भने यसलाई कसले जोगाउने भन्ने विषय चुनौती बनेको छ । यसर्थ यहाँ तानसेनको संस्कृति र यहाँ मनाइने लाखे नाचका विषयमा केन्द्रीत रहेर चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ । जात्रै जात्राको शहरका रुपमा तानसेनलाई लिने गरिन्छ । सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौंको भाइ मानिँदै आएको छ । भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्वर स्थलका रूपमा तानसेना परिचित छ । कत्युरीवंश, पालवंश, खसवंश, सेनवंश र शाहवंशले शासन गरेको पाल्पामा उनीहरूले अवलम्बन गरेको रीतिरिवाज, रहनसहन, कला, वास्तुकला आजसम्म पनि कहीँ न कतै जीवन्त छ । विजय उत्सवका रूपमा मनाइने पाल्पाको प्रसिद्ध भगवती माईको रथयात्रा, प्रेमसँग जोडिएको लाखे नाँच, एग्रो रिलिजनसँग सादृश्य राख्ने रोपाइँजात्रा, मृत्यु गणनासँग सम्बन्धित सापारु जात्रा, प्रकृतिसँग जोडिएको बाघजात्रा आदि तानसेनका मुख्य जात्रा तथा पर्व हुन् । जात्रा पर्वको माध्यमबाट आपसी भाइचारा, विश्वास, भ्रातृत्व, भगिनीत्व र बन्धुत्वको भावना कायम रहन्छ । यसले पुस्तान्तरणलाई पनि जोडेर राख्छ । समुदायलाई एकताको बन्धनमा बाँधेर राख्ने यस्ता जात्रा, पर्व र संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ताको आकर्षण भने बढ्न सकेको छैन ।
लाखे नाचको बारेमा व्याख्या गर्नु पूर्व पाल्पाका जात्रा र पर्वहरुको सुरुवाती अवस्था र वर्तमान अवस्थाका बारेमा थोरै उल्लेख गर्न चाहन्छु । २०१८ सालतिर पाल्पाको तानसेनमा स्व. लाले जोकर, स्व. प्रराण प्रसाद उदय, स्व.ब्रमशेखर बज्राचार्य, स्व. चन्द्रमान श्रेष्ठ, स्व.बुद्धरत्न शाक्य, स्व. थापा काका, स्व. डण्डे बाहुन, स्व. युक्तलाल चित्रकार, स्व. बाबुराम सुवाल स्व. रामबहादुर चौधरी लगायतका कलाकारहरुले छोकडा नाँच, चुइकी फिराइ, गाँठे मंगल, लाखे नाँच निकाल्ने गरेका थिए । २०२८ सालपछि भने देउराली परिवार, मित्रु सिं हेमचुरीको ग्ध्रूरप, टक्सारको मैत्री क्लव, बसपार्कको कल्याण कोष समितिबाट छोेकड़ा नाँच निकाल्ने गरेको पाइन्छ । जुन नाच प्रत्यक्ष रुपमा मुखले गाएर, हार्मोनियम, मादल, तबला सहित अन्य बाध्यवादन बजाएर केटालाई केटीको भेषभुषामा सजिएर (मारुनी र जोकर) समूह भएर नाच्ने गरिन्छ । जुन बेला सञ्चारका माध्यमहरु र अन्य मनोरञ्जनका साधन थिएनन् । त्यति बेला सो नाच हेर्नको लागि गाउँ–गाउँबाट मानिसहरु तानसेन आउने गर्थे । २/४ दिन तानसेनका होटल र पाटी पौवामा बास बसेर उनीहरुले नाँच हेरेर फर्कन्थे । मइन्टोल, लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो ।
पछि सञ्चारका साधानहरु प्रसस्त मात्रमा खुल्न थाले र मनोरञ्जनका साधन पनि भए । जसका कारण यी मौलिक नाचहरु विस्तार हराउन थालेका हुन् । अर्कोतर्फ नयाँ पुस्तालाई सिकाउन नसक्दा पुरानो संस्कृति हराउने अवस्थामा पुगेको छ । लाखे नाचको कला र शिल्प पुस्तान्तरण नहुँदा समस्या निम्तिएको हो । नयाँ पुस्तामा लाखे नाच्ने मान्छे नै छैनन् । नेवार समुदायमा हुने बसाइँसराइ, युवाहरू पढ्न बाहिर जाने प्रवृत्तिले पुरानो कला, संस्कृति जोगाउन चुनौती थपिएको हो । अर्कातिर नाच÷जात्राहरु खर्चिलो भएकाले पनि देखाउन कम भएको छ । सांस्कृतिक पर्वमा नाच्ने, गाउने, बजाउने पुराना पुस्ताका धेरै कलाकार अहिले काठमाडौँ, पोखरालगायतका सहरमा छन् । नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिप्रति उतिसारो रुचि छैन, पढ्न र रोजगारीका लागि बाहिर जाने प्रवृत्ति बढ्दो छ । अहिलेसम्म जेनतेन धानिएको नेवारी संस्कृति अब कसले धान्ने भन्ने अवस्था आएको छ । लाखे मात्र नभएर गाइ जात्रा, रोपाइँ, भगवती जात्रालगायतका जात्रा पर्वहरु पनि जोगाउनै धौधौको स्थिति छ । इतिहास बोकेका नाच र जात्रा हराएर जाने हुन् कि चिन्ता छ । मौलिक संस्कृति लोप हुन थालेपछि २०५२ देखी कल्याण कोष समिति (क्लव) ले त्यसको संरक्षण्मा केही चासो देखाएको हो । लोप हुने अवस्थामा पुगेका गाँठे मंगल, चुड्की फिराइ, प्रहसन, बाघजात्रा र लाखे नाच निकाल्दै आएको थियो । त्यति बेला अर्चले, बराङ्दी, बर्तुङ, काजीपौवा, धरमपानी लगायतका स्थानबाट रोपाई जात्रा निकाल्ने गरिन्थ्यो, तर पछि यहाँका स्थानीय सरकार र बजारका व्यापारीहरुबाट आर्थिक सहयोग हुन छोडेपछि यस्ता जात्रा विस्तारै देखाउन छोडियो । क्लवले पनि सहयोग नभएपछि क्रमशः छोड्दै जान थाल्यो ।
लोपउन्मूख अवस्थामा रहेको नाच मध्ये लाखे नाच पनि एक हो । यो तानसेनको रणउजेश्वरी भगवती मन्दिरमा जागरामका दिन देखाउने गरिए पनि २०६२/०६३ मा २ वर्ष त्यो देखाइएन । हरेक वर्ष लाखे देखाउँदा रमाइलो हुने र मानिसहरुको भिड हुने गरे पनि त्यो क्रमशः कम हुँदै गयो । भगवती मन्दिरमा लाखे ननिकालेपछि यहाँका कलाकारहरुले आफै भए पनि निकाल्ने अठोट गरि २०६४ देखी लाखे निकाल्न थाले । २०५२ सालदेखि नै जिल्लाको कला संस्कृतिको संरक्षणमा काम गर्दै आएको कलाकारहरुको समूह पाल्पाली नाट्य कला सांस्कृतिक समूहले २०६४ साल देखी अहिलेसम्म निरन्तर रुपमा लाखे नाच देखाउँदै आएको छ । शुरुका दिनहरुमा समूहले लाखे निकाल्दा लाखेको खप्पर मात्र राखेर निकाल्ने गरिन्थ्यो । पछि चौरीको कपालको रुपमा तानसेन बसपार्कका थमाङ सिं पौडेलले स्वीटर बुन्ने कालो ऊनीको धागोलाई कटिङ गरी कपाल बनाइदिएका थिए । २०६५ सालमा तानसेनवासीबाट केही आर्थिक, तानसेन गुठी, गुठीका पदाधीकारी र हेमन्त कोलाक्षपती, कोकील गोबिन्द श्रेष्ठ, शान्ता शाक्य, गृह मान सिं, भरत देउराली, अशोक महर्जन, स्व. श्याम कक्षपती जस्ता व्यक्तिहरुबाट लाखेको खप्पर, चौरीको बाल, ढोल, भ्याली सहयोग भएको थियो । जसले गर्दा लाखे नाचलाई थप स्तरीय बनाउन ठूलो भूमिका खेलेको कुरालाई विर्सनु हुँदैन । अर्को वर्ष थमाड्ढा बुबाबाट सिलबरको ढकनीबाट आफ्नै हातबाट कुडेर लाखेको खप्पर बनाइ दिनुभएको थियो । यसरी लाखे नाच नाँच्दै जादा तानसेनवासी र तानसेन नगरपालिका, देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पा, पाल्पा उद्योग वाणिज्य संघ, श्रीनगर यातायात लगायत थुप्रै संघ संस्थाहरुबाट थोरै, धेरै सहयोग रहयो । जसका कारण अहिलेसम्म ३ वटा पुरुष १ वटा महिला लाखे नाच देखाउन समूह सक्षम भएको छ । एक दिन लाखे निकाल्दा २२ हजार खर्च हुने गरेको छ । कहि कतैबाट सहयोग नभए यो देखाउन पनि सम्भव छैन् ।
नेवार संस्कृतिमध्ये वर्षे नाच अन्तर्गत लाखे नाच देखाउने गरिन्छ । हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले बताएका छन् । संस्कृति संरक्षण गर्नु सबैको दायित्व हो, तर यसतर्फ राजनीतिक दल, सरकारले खासै चासो देखाएको देखिदैन । यो अत्यन्त चिन्ताको विषय हो । जसो तसो सहयोग जुटाएरै भए पनि पाल्पाली कलाकारहरुले यस्ता संस्कृतिहरुको संरक्षण गर्दै आएका छन् । यसलाई राम्रै मान्नुपर्छ । संस्कृतिको संरक्षण गर्नु कलाकारको मात्र दायित्व होइन, यसमा सबैको सहयोग र साथ आवश्यक रहन्छ । भाषण र कागजमा संस्कृतिको संरक्षणको कुरा गरिन्छ र लेखिन्छ पनि तर व्यवहारतः त्यो देखिदैन । पुराना पुस्ताले तसोतसो धान्दै आएका यी कला संस्कृति अब कसले धान्ने भन्ने कुरा चुनौति रहेकाले यसतर्फ तीनै तहका सरकारहरुले गम्भीर भएर सोच्ने बेला आएको छ ।
(लेखक पाल्पाली हाँस्य व्यङ्गय कालाकारसँगै पाल्पाली नाट्य कला सांस्कृतिक समूहका अध्यक्ष समेत हुन् ।)