Shittalpati
ताराले जन्मदिनमा आश्रममा पुगेर गराइन् असहायलाई भोजन

पाल्पा, पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने एक युवतीले जन्मदिनमा असहायलाई भोजन गराएकी छन् । गुल्मीको मुसिकोट नगरपालिका– ३ धरम्पानीका शिवबहादुर कार्की र कमला कार्कीको सुपुत्री हाल कुमारी बैंक पाल्पा शाखामा कार्यरत तारा कार्कीले आफ्नो २८ औं जन्मदिनको अवसरमा तानसेनस्थित भूषलडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगी असहायहरुलाई भोजन गराएकी हुन् ।

उनले केक काट्ने फेसनलाई चुनौति दिदै आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिलाई एक छाक भोजन गराएकी छन् । कार्कीले त्यहाँ रहेका २२ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुलाई भोजन गराएकी हुन् । विगतमा केक काटेर जन्मदिन मनाउने गरे पनि यस पटक भने असहायलाई भोजन गराई जन्मदिन मनाएको कार्कीले बताइन् । उनले भनिन् ‘सानैदेखि वृद्धवृद्धाहरुलाई बढी माया गर्ने गर्थें, म मा सेवा गर्नुपर्छ भन्ने भावना रहेकाले जन्मदिनमा आश्रममा रहेका असहायहरुलाई एक छाक भोजन गराएकी हुँ ।’ केक काट्ने, साथीभाइहरु जम्मा गरेर गरिने फजुल खर्चलाई आश्रममा रहेका असहायहरुको लागि खर्चने सोंचका साथ आश्रममा पुगेर खाना खुवाएको उनले बताईन् ।

कार्की भन्छिन् ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बाडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो ।’ आगामी दिनमा पनि जन्मदिनमा गरिने खर्च गरिब, भोका नाङ्गाहरुलाई सहयोग गर्ने कार्कीले बताइन् । उनले केक काटेर फजुल खर्च गर्नुभन्दा मानव सेवा गरे आफुलाई छुट्टै आनन्द आउने बताईन । भोजन गराएपछि कार्कीले भनिन्, ‘सेवा नै धर्म हो, भन्ने भावनाको विकास र मनमा शान्ति भएको महशुस भयो ।’ कार्कीले जन्मदिनकै अवसरमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पाल्पाका रानीमहल, भैरवस्थान मन्दिर लगायतका ऐतिहासिक पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेकी छन् । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update