Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, नवलपरासी पूर्व, चितवन र उदयपुरमा भएका छुट्टाछुट्टै  सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको हो ।

दाङको शान्तिनगर गाउँपालिका–१ हाँडिचारस्थित सडकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा.१ ज ७७० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार सल्यान त्रिबेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार ६ जना मध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने २ जनालाई थप उपचारको लागि नर्सिङहोम नेपालगञ्ज बाँके पठाइएको छ । साथै २ जनाको उपचार पश्रुचात डिस्चार्ज भएका छन् । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको युपि ५६ ए ९२१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अमचुर खोलामा खस्दा चालक भारत महाराजगञ्ज निशलल थाना वडवलियाका बस्ने ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि जिल्ला सरकारी अस्पताल नवलपरासी पश्चिम पठाइएको छ । यस्तै चितवनको कालिका नगरपालिका–६ नगरपालिका चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट ना.६५ प ६९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ७० वर्षीय शिव नारायण श्रेष्ठको राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बेसारास्थित सडकमा रोकी राखेको अटोमा खेल्ने क्रममा अटो सडकबाट तल खस्न जाँदा एक जनाको ज्यान गएको छ । प्र.१–०२–००४ ह ४०८१ नम्बरको अटोमा खेल्ने क्रममा अटो सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा खोटाङ बाह्रपोखरी गाउँपालिका–५ बोयाटार बस्ने विश्वदिप राईकी छोरी १४ वर्षीया सारा राईको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । खोटाङबाट बेल्टारतर्फ जाँदै गरेको प्र १–०५–००१ ह ०२८५ नम्बरको अटो वर्षातको कारण सडक बिग्रिएर रोकिए पश्रुचात अटोमा सवार सारा ओर्लिएर सोही स्थानमा रोकी राखेको प्र १–०२–००४ ह ४०८१ नम्बरको अटोमा खेल्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update