Shittalpati
प्रतितोला डेढ लाख पुुग्यो, नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित

पाल्पा, विश्व बजारसँगै नेपालमा पनि सुनको भाउ निरन्तर वृद्धि भएर नयाँ रेकर्ड राख्ने क्रम जारी छ । एक वर्षको अवधिमा सुन एक तोलामै करिब ३८ हजारले वृद्धि भएको छ । गत वर्षको साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय थियो । २०८१ साउन १ गते तोलाको एक लाख ४७ हजार आठ सयमा कारोबार भयो । त्यसैको अर्को दिन अर्थात् साउन २ गते एक लाख ४९ हजार ८ सय पुग्यो । केही दिन तल माथि भएको सुनको मूल्यले सोमबार अर्थात् साउन २१ गते नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सोमबार छापावाला सुन प्रतितोला तीन सयले वृद्धि भएको हो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन सोमबारका लागि एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । यसै गरी वृद्धि हुँदै जाने हो भने सर्वसाधारणको पहुँचभन्दा बाहिर गएर ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने प्रचलित लोकोक्तिले सार्थकता पाउने निश्चित छ । केही वर्षअघिसम्म अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने र डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने गरेको देखिन्थ्यो । केही वर्षयता भने दुवैको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । सुनको मूल्यमा वृद्धि हुँदै गएपछि नेपाली बजारमा नयाँ गहनाको कारोबार समेत घटेको छ । दिनप्रतिदिन सुनको भाउ बढ्दै गएपछि पाल्पामा पनि यसको प्रभाव देखिएको छ । सुन महँगो हुँदा सर्वसाधारणले सुनका गहना किन्नेतर्फ ध्यान दिएका छैनन् ।

सुनको माग नभएपछि व्यवसायीहरुले समेत बैंकबाट सुन लिन छाडेका छन् । महिनामा ३ किलो सुन पाल्पाको कोटामा पर्ने गरे पनि अहिले भाउ बढेपछि लिन छोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ पाल्पाका अध्यक्ष प्रेम पौड्यालले बताए । उनले भने ‘अहिले नयाँ गहनाको कारोबार नै हुन छोड्यो, दुई महिना जति भयो हामीले बैंकबाट सुन लिन सकेका छैनौं ।’ एकातिर अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्ने अर्कोतिर नेपाल सरकारले भन्सारमा मूल्य वृद्धि गर्ने गर्दा नेपाली बजारमा थप महँगो हुन पुगेको अध्यक्ष पौड्यालले बताए । यस अघि सरकारले सुनमा १५ प्रतिशत भन्सार शुल्क लिने गरेकोमा अहिले २० प्रतिशत पुर्‍याएकाले पनि थप समस्या भएको उनले उल्लेख गरे । ‘भाउ घट्यो भने कारोबार बढ्छ । तर अहिले भाउ बढ्दै गएकाले तयारी गहना किन्ने ग्राहक छैनन्’ अध्यक्ष पौड्यालले भने । उनका अनुसार भाउ बढ्दा पुरानो गहना साटफेर मात्रै गर्ने र थोरै थपथाप गरेर लैजाने ग्राहक मात्रै आउने गरेका छन् । ‘तीज आउन लागेको छ तर कारोबार छैन्, मूल्य बढेपछि पुरानो साटफेर गरेर लगाउने बढी आएका छन्’ अध्यक्ष पौड्यालले भने, ‘केहीले पुरानो बढी दिएर नयाँ थोरै लिएर जान्छन् । केहीले थपथाप गरेर लैजाने गर्छन् ।’ नयाँ गहना नगदमा किनेर लगाउने शून्य नै रहेको उनको भनाइ छ । यस अघि पाल्पामा सिजनका बेला महिनामा १० केजीसम्म खपत हुन्थ्यो । तर अहिले महिनामा आधा केजी पनि कारोबार हुँदैन । ‘कारोबार शून्य नै छ’ अध्यक्ष पौड्यालले भने, ‘कारोबार नहुँदा कालीगढलाई तलब दिन पनि सकस भएको छ ।’ पाल्पामा एक सय १८ सुनचाँदी व्यवसायी छन् । जहाँ ७ हजार कालीगढ कार्यरत रहेको पौड्यालले बताए ।

अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update