Shittalpati
भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै

भरत शर्मा 
पाल्पा, यस वर्ष पाल्पाको ऐतिहासिक भगवती जात्रा आगामी भदौ ११ गते  निकालिने भएको छ । विरताको गाथा बोकेको तानसेनको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २ सय ५ औं भगवती रथयात्रा निकाल्ने तयारी भएको हो ।   

भगवती गठी व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा यस वर्ष गरिने जात्राका बारेमा जानकारी गराइएको छ । जात्रामा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौड्याललाई आमन्त्रण गरिएको  समितिले जनाएको छ । 
छलफलमा मन्दिरको अवस्था रथयात्रा र आर्थिक समस्याका बारेमा गुठीका सदस्य पदम न्यौपानेले जानकारी गराएका थिए । उनले मन्दिर ज्यादै पुरानो भएका कारण चुहिएर समस्या परेको अवस्थामा नेपाली सेनाको दी फेमशदलले प्लाष्टिकले ढाकेर सहयोग गरेको बताए । गुठीका नाममा पाल्पा र भक्तपुरमा अवस्थित जग्गाबाट राजस्व समेत न्यून आएकाले सोबाट मन्दिर व्यवस्थापन र जात्रा सञ्चालनमा समस्या भएको न्यौपानेले गुनासो गरे । 

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद  तथा पूर्वमन्त्री वीरबहादुर रानाले ऐतिहासिक भगवती मन्दिरलाई पुरानै शैलीमा पुर्ननिर्माण गर्नका लागि आफुहरु निरन्तर पहल गर्दै आएको बताए । उनले यसको गरिमा बढाउन प्रचार–प्रसारसँगै स्रोतको खोजी गर्नु आवश्यक रहेको उल्लेख गरे । सांसद रानाले  भने ‘मन्दिरको आर्थिक स्रोत बढाउन विभिन्न स्थानमा रहेका पाल्पाली र भक्तजनहरुसँग सहयोग जुटाएर १ करोडको अक्षयकोष स्थापनाका लागि सबैले पहल गर्नुपर्छ ।’ छलफलमा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले मन्दिरको ऐतिहासिकता बचाई राख्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई लगायतले भगवती जात्रा सफल पार्न सबै एक जुट हुनुुपर्नेमा जोड दिए । जात्राका लागि राष्ट्रपति रामचन्द्र पौड्याललाई आमन्त्रण गरिएकाले यस पटकको जात्रा भव्य हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताए । समितिका अध्यक्ष महर्जनको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिव प्रकाशनाथ गंगोलको सञ्चालनमा भएको थियो । 

नेपालले विसं १८७१ र ७२ मा भएको बुटवल जितगढीयुद्वमा अंग्रेजलाई पराजित गरेको थियो । तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर कर्णेल उजिर सिंह थापाले युद्वमा जानु अघि युद्वमा जितेमा तीन तले मन्दिर बनाई भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । युद्वमा विजयी भएपछि तत्कालीन कर्णेल उजिर सिंह थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव स्वरुप भगवती जात्रा मनाउ थालेका हुन् । जुन परम्परा आज सम्म चल्दै आएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update